जिताएर फर्किएका जोराको जोड- ‘राम्रो पिच नभई नेपालको क्रिकेट माथि जाँदैन’

जिताएर फर्किएका जोराको जोड- ‘राम्रो पिच नभई नेपालको क्रिकेट माथि जाँदैन’

काठमाडौं : विराटनगर किङ्सविरुद्धको रोमाञ्चक जितमा ११ बलमा अविजित २५ रनको निर्णायक इनिङ्स खेलेका लुम्बिनी लायन्सका ब्याटर सन्दीप जोराले नेपालको क्रिकेट माथिल्लो स्तरमा पुर्याउन पिचको गुणस्तर सुधार्नै पर्ने बताएका छन्।

शनिबार साँझ ‘प्लेयर अफ द म्याच’ बनेपछि पत्रकार सम्मेलनमा बोल्दै जोराले कीर्तिपुरको पिचबारे विदेशी खेलाडीहरूले समेत प्रश्न उठाइसकेको उल्लेख गर्दै राम्रो पिच आवश्यक रहेको बताए।

“नेपालको क्रिकेट ग्रो (विकास) गर्ने हो र माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्ने हो भने पिच राम्रो हुनै पर्छ,” उनले भने, “हामी वर्षभरि नै यस्तै पिचमा खेलिरहेका हुन्छौँ, तर विदेशी खेलाडीहरूले पनि राम्रो पिचको अपेक्षा गरेका हुन्छन्। भविष्यमा पिच अझ राम्रो हुँदै जाला भन्ने आशा छ।”

‘एक-दुई बाउन्ड्रीले खेल पल्टने विश्वास थियो’
अन्तिम दुई ओभरमा जितका लागि ३३ रन आवश्यक रहेको दबाबपूर्ण अवस्थाबारे बोल्दै जोराले टी-२० क्रिकेट ‘मोमेन्टम’ को खेल भएको बताए।

क्रिजमा डेब्युटेन्ट अलि शेखसँग एक-दुई बाउन्ड्री आए खेल आफूतिर फर्कने सल्लाह भएको खुलाउँदै उनले भने, “एक-दुई छक्का लागेपछि मोमेन्टम हाम्रो पक्षमा आयो र खेल फिनिस गर्न सक्यौँ ।”

खेलका क्रममा पाएको रनआउटको जीवनदानबारे उनले ‘लक फ्याक्टर’ ले पनि काम गरेको स्वीकारे।

“त्यो समयमा आउट भएको भए नतिजा अर्कै हुन सक्थ्यो, तर साना-साना मार्जिनमै खेल पल्टन्छ र आज भाग्यले पनि हाम्रो साथ दियो,” उनले भने।

चालु सिजनमा लुम्बिनीका कुनै पनि ब्याटरले अर्धशतक नबनाए पनि टोली शीर्ष स्थानमा रहँदै क्वालिफायर-१ मा पुगेको प्रसंगमा जोराले एक जना खेलाडीमाथि निर्भर नहुनु नै टोलीको सबैभन्दा ठूलो बल भएको बताए।

गत सिजन ओपनिङ र यस सिजन फिनिसरको भूमिकाबारे बोल्दै उनले प्रशिक्षक र कप्तानले भूमिका स्पष्ट पारेकाले सहज भएको उल्लेख गरे। 

पहिलो सिजन तालिकाको पुछारमा रहेको, दोस्रोमा च्याम्पियन बनेको र तेस्रोमा शीर्ष स्थानमा पुगेको यात्रालाई उनले ‘टिम ग्राउन्डेड’ भएर सामूहिक प्रयास गर्दाको नतिजाका रूपमा व्याख्या गर्दै उपाधि रक्षा गर्ने लक्ष्य दोहोर्याए।

कात्तिक २८, २०८३ शनिबार २२:०८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।