अन्तिम ओभरको थ्रिलरमा विराटनगरलाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा, प्लेअफ समीकरण पूरा

अन्तिम ओभरको थ्रिलरमा विराटनगरलाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा, प्लेअफ समीकरण पूरा
तस्बिर- घनश्याम श्रेष्ठ/रासस

काठमाडौं : बलिङतर्फ चार ओभरमा ५२ रन खर्चेर महँगा साबित भएका रुबेन ट्रम्पेलम्यानले ब्याटिङमा पहिलो बलमै छक्का प्रहार गरेपछि साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ मा विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति सम्पन्न नाटकीय खेलमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर (१६८/६) पूरा गर्यो।

यस जितसँगै लुम्बिनी ७ खेलबाट ११ अङ्क जोड्दै लिग चरणमा शीर्ष स्थान सुनिश्चित गरी क्वालिफायर-१ मा पुगेको छ भने पराजित विराटनगर (७ खेलमा ६ अङ्क) प्लेअफ दौडबाट बाहिरिएको छ।

यस्तै प्लेअफ समीकरण पनि पूरा भएको छ। लुम्बिनी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स, तेस्रोमा काठमाडौं गोर्खाज र चौथो स्थानमा चितवन राइनोज छ। यद्यपि काठमाडौं र चितवन तथा कर्णाली र पोखराको खेल भने अझै बाँकी छ।

अन्तिम २ ओभरको नाटकीय ड्रामा
१८ ओभरको समाप्तिमा १३४/५ को स्थितिमा रहेको लुम्बिनीलाई जितका लागि अन्तिम १२ बलमा ३३ रन आवश्यक थियो र खेल विराटनगरको पकडमा देखिन्थ्यो।

इसुरु उडानाले बलिङ गरेको १९औँ ओभरमा १ लेग बाई, एक चौका र अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार भएपछि लुम्बिनीले १७ रन बटुल्दै स्कोर १५१/५ मा पुर्यायो।

अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि १६ रन चाहिन्थ्यो, बलिङमा आए रुपेश सिंह।

तर, ओभरको पहिलो बलमै रुपेशले ‘नो-बल’ फाले, जसमा छक्का प्रहार भएपछि लुम्बिनीले एकै बलमा ७ रन पायो र फ्री-हिटसमेत थपियो। त्यसपछिका तीन बलमा क्रमशः २, १ र १ रन जोडिँदा स्कोर १६२/५ पुग्यो।

चौथो बल (१९.४) मा उत्कृष्ट ब्याटिङ गरिरहेका डेब्युटेन्ट अलि शेख (१९ बलमा २७ रन, १ चौका र २ छक्का) इसुरु उडानाको हातबाट समातिएपछि खेल फेरि पल्टिने सङ्केत देखियो।

अब २ बलमा ५ रन चाहिँदा क्रिजमा आएका रुबेन ट्रम्पेलम्यानले पाँचौँ बल (१९.५) मै शानदार छक्का प्रहार गर्दै १ बल बाँकी छँदै लुम्बिनीलाई अविश्वसनीय जित दिलाए।

अन्तिम ५ ओभरमा लुम्बिनीले २ विकेट गुमाउँदै ६६ रन जोडेको थियो। विजयी साझेदारीको आधार तयार पारेका सन्दीप जोराले मात्र ११ बलमा ३ छक्का र १ चौकासहित अविजित २५ रन को विस्फोटक इनिङ्स खेले।

८६/० बाट ९८/४ को पहिरो र पुनरागमन
यसअघि १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई ओपनरद्वय डी’आर्सी सर्ट (३८ बलमा ४५ रन) र आसिफ शेख (४१ बलमा ४५ रन) ले ११.५ ओभरमा ८६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए।

तर, १२औँ ओभरमा चरिथ असलङ्काले सर्टलाई एलबीडब्लु आउट गरेपछि लुम्बिनीको ब्याटिङ एक्कासि धराशायी बन्यो।

१३औँ ओभरमा अपराजित पौडेल ले निरोशन डिक्वेला (०) र दिलीप नाथ (०) लाई लगातार बलमा आउट गरे भने १४औँ ओभरमा आसिफ शेख रनआउट हुँदा लुम्बिनी ८६/० बाट ९८/४ को नाजुक स्थितिमा पुग्यो।

कप्तान रोहित पौडेल पनि ९ रनमा रनआउट भएपछि १६.२ ओभरमा स्कोर १२०/५ बनेको थियो । तर छैटौँ विकेटका लागि अलि शेख र सन्दीप जोराले ४२ रनको आक्रामक साझेदारी गर्दै लुम्बिनीलाई खेलमा फर्काएका थिए।

विराटनगरका लागि बलिङमा अपराजित पौडेलले १ ओभरमा ५ रन खर्चेर २ विकेट लिए भने चरिथ असलङ्काले ४ ओभरमा मात्र १७ रन दिएर १ विकेट हात पारे । रुपेश सिंहले २.५ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए।

कप्तान सन्दीप लामिछाने र इसुरु उडाना विकेटविहीन रहे।

असलङ्काको अर्धशतक खेर गयो
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथ असलङ्का ले ४३ बलमा ६ छक्का र १ चौकासहित सर्वाधिक ६४ रन बनाएका थिए।

एन्जेलो म्याथ्युजको स्थानमा खेलिरहेका शुभम रन्जनेले २४ बलमा अविजित ३१ रन जोड्दा इमरान शेख २४ रन बनाएर ‘रिटायर्ड हर्ट’ भएका थिए। लोकेश बम १५ रनमा आउट हुँदा बसीर अहमद र इसुरु उडानाले ६-६ रन जोडे।

लुम्बिनीका किशोर महतोले २ तथा अभिषेश गौतम र ट्रम्पेलम्यानले १-१ विकेट लिएका थिए।

कात्तिक २८, २०८३ शनिबार २०:४७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।