रञ्जित र सिकन्दरको स्पेलमा ८८ रनमा खुम्चियो जनकपुर
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबारको ‘गर या मर’ खेलमा जनकपुर बोल्ट्सको ब्याटिङ लाइनअप धराशायी बनेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८८ रन मात्र जोड्न सक्यो। यससँगै चितवन राइनोजले जितका लागि ८९ रनको झिनो लक्ष्य पाएको छ।
जनकपुरलाई सस्तैमा समेट्न चितवनका बलर रञ्जित कुमार र कप्तान सिकन्दर रजाले घातक बलिङ गरे। रञ्जितले ३ ओभरमा १ मेडन राख्दै मात्र २ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट झारे।
त्यस्तै, कप्तान रजाले ४ ओभरमा २ मेडनसहित मात्र १० रन खर्चेर २ विकेट लिनुका साथै फिल्डिङमा ३ क्याचसमेत समाते। कामिल मिशाराले २ तथा कमलसिंह ऐरी र रिजन ढकालले १-१ विकेट हात पारे।
प्लेअफको झिनो आशा जोगाइराख्न जित्नैपर्ने दबाबमा रहेको जनकपुरको सुरुवात निकै खराब रह्यो। ६.१ ओभरमा २२ रन जोड्दा जनकपुरले शीर्ष ४ विकेट गुमाइसकेको थियो।
ओपनर त्रितराज दास ५ र रायन बर्ल ६ रनमा आउट हुँदा टी-२० क्रिकेटमा डेब्यु गरेका विकेटकिपर सन्तोष कार्की १० रनमा पभेलियन फर्किए। टोलीका प्रमुख विदेशी ब्याटरद्वय ह्यारी टेक्टर र जेम्स नीशमले खातासमेत खोल्न सकेनन्।
जनकपुरका लागि कप्तान हरमीत सिंहले सर्वाधिक २५ रन (२५ बलमा २ चौका र १ छक्का) जोडे। विशाल सुस्लिङले १५ र राहुल यादवले अविजित १० रन बनाए भने ललितनारायण राजवंशी २ रनमा अविजित रहे।
आदित्य महता २६ बलमा ४ तथा अभिषेक तिवारी ४ रनमा आउट भए। पूरै इनिङ्समा जनकपुरका ब्याटरले मात्र ५ चौका र ४ छक्का प्रहार गर्न सके।
६ खेलबाट ४ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको जनकपुरलाई लिग चरणको अन्तिम खेलमा जित निकाल्न अब बलरहरूले चमत्कारिक प्रदर्शन गर्नुपर्ने देखिएको छ।
अर्कोतर्फ, ५ खेलबाट ५ अंकसहित पाँचौं स्थानमा रहेको चितवन ८९ रनको सामान्य लक्ष्य पछ्याउँदै प्लेअफ दाबेदारी थप बलियो बनाउने दाउमा छ।
कात्तिक २७, २०८३ शुक्रबार १८:४०:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।