वार्नर नहुँदा पनि टिमको ऊर्जा घटेको छैन : गणेश गौतम

वार्नर नहुँदा पनि टिमको ऊर्जा घटेको छैन : गणेश गौतम

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि काठमाडौं गोर्खाजका युवा बलर गणेश गौतमले टोलीका स्टार खेलाडी डेभिड वार्नर स्वदेश फर्किए पनि टिमको सकारात्मक ऊर्जा र मनोबलमा कुनै कमी नआएको बताएका छन्।

चितवन राइनोजविरुद्धको अघिल्लो खेलमा डेब्यु गरेका गौतमले सुदूरपश्चिमविरुद्ध आफ्नो दोस्रो खेल खेलेका थिए। सुदूरपश्चिमसँगको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले खेलको नतिजा सोचेजस्तो नआए पनि टोलीको प्रदर्शन र वातावरण सन्तुलित रहेको उल्लेख गरे।

सुदूरपश्चिमले दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा काठमाडौं ७ रनले चुकेको थियो। खेलको समीक्षा गर्दै गौतमले पावरप्लेमा राम्रो सुरुवात भए पनि मध्यक्रममा फिल्डिङ र क्याचमा चुक्दा विपक्षीले अपेक्षाभन्दा केही बढी रन बनाएको बताए।

“पिचले स्पिनरलाई सहयोग गरिरहेकाले हामी आफ्नै योजनामा अडिग रहेर बलिङ गरिरहेका थियौँ,” उनले भने, “तर बीचमा केही क्याच छुट्दा र फिल्डिङमा चुक्दा विपक्षीको स्कोर थोरै माथि गयो।”

सुरुवाती चार खेल खेलेर फर्किएका अस्ट्रेलियन ब्याटर डेभिड वार्नरको अनुपस्थितिबारे सोधिएको प्रश्नमा गौतमले वार्नरको ऊर्जा र उपस्थिति विशेष हुने स्वीकार गरे। यद्यपि, उनी बाहिरिँदैमा टिम कमजोर नभएको उनको भनाइ छ।

“डेभिड वार्नर विश्वकै ठूलो नाम हो, उहाँको ऊर्जा नै फरक स्तरको हुन्छ,” गौतमले भने, “उहाँले टिममा जुन सकारात्मक संस्कृति बसाल्नुभयो, त्यो अहिले पनि कायम छ। उहाँ नहुँदैमा टिममा नकारात्मक असर परेको छैन, आज केवल हाम्रो दिन नभएको मात्र हो।”

‘ट्यालेन्ट हन्ट’ मार्फत काठमाडौं गोर्खाजको टोलीमा स्थान बनाएका गौतमले नुवाकोटबाट नियमित जिल्लास्तरीय क्रिकेट र प्रधानमन्त्री कप खेल्दै आफ्नै प्रदर्शनका बलमा एनपीएलको मञ्चसम्म आइपुगेको बताए।

डेब्यु खेलमा सुरुवाती नर्भसनेस रहे पनि योजनाअनुसार बलिङ गर्दा सफल भएको सुनाउँदै उनले दोस्रो खेलमा अन्तिमतिर केही रन खर्चिए पनि समग्रमा आफ्नो बलिङ सन्तोषजनक रहेको प्रतिक्रिया दिए।

लिग चरणको एक खेल बाँकी रहँदा काठमाडौंको आगामी योजनाबारे गौतमले स्पष्ट पारे, “पहिलो लक्ष्य भनेको बाँकी खेल जितेर अंकतालिकाको शीर्ष दुईमा स्थान बनाउनु हो, त्यसपछि जित्दै फाइनलसम्म पुग्ने हो।”

कात्तिक २७, २०८३ शुक्रबार १७:३३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।