स्नान त परै जाओस्, फर्केर समेत नहेरिने रसुवाको भैरवकुण्ड
रसुवा : गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ तालतलैयामध्ये भैरवकुण्ड विशिष्ट धार्मिक मान्यता र किंवदन्ती बोकेको तीर्थस्थल हो।
उच्च हिमाली भेगको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि अवस्थित यस कुण्डलाई स्थानीय तामाङ समुदायले ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा चिन्छन्।
गोसाइँकुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरवकुण्डलाई भय र निषेधको प्रतीकका रूपमा लिइन्छ। यही धार्मिक विश्वासका कारण गोसाइँकुण्ड स्नान गर्न पुग्ने तीर्थयात्री भैरवकुण्डमा ननुहाउने र परिक्रमा गरी फर्किँदा कुण्डतर्फ नहेरी अगाडि बढ्ने परम्परा छ।
गोसाइँकुण्ड गाउँपालिका-५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङले उक्त परम्परालाई सम्मान गर्दै आगन्तुकलाई जानकारी दिन सुरक्षित पदमार्ग निर्माण र सूचना पाटी राख्ने योजना बनाइएको बताइन्।
भैरवकुण्डको उत्पत्तिसँग हिन्दू र बौद्ध धर्मका विभिन्न पौराणिक कथा जोडिएका छन्। हिन्दू मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गर्दा लागेको दोष निवारण र शारीरिक कष्ट शान्त पार्न यो कुण्ड निर्माण गरी तपस्या गरेको विश्वास छ।
अर्को कथनअनुसार समुद्र मन्थनबाट निस्किएको विष पिउँदा घाँटीमा भएको डाह सहन नसकी महादेवको शरीरबाट बगेको पसिना जमेर भैरवकुण्ड बनेको हो। विषयुक्त पसिनाबाट बनेकाले कुण्डमा विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ।
बौद्ध धर्मसम्बद्ध जनश्रुतिअनुसार भने महादेवका दाजु ‘छोना’ ले भैरवकुण्ड निर्माण गरेका हुन्। रसुवाका लेखक फुर्पा तामाङको पुस्तक ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति’ का अनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये उपयुक्त स्थान भेटेपछि दाजु छोनाले भाइलाई बिर्सिए।
दाजुको व्यवहारबाट क्रोधित महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएका थिए। यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड (भैरवकुण्ड) र महादेवले बनाएको कुण्ड सेतोकुण्ड (गोसाइँकुण्ड) कहलिएको पुस्तकमा उल्लेख छ।
धुन्चेका लामा गुरु रिन्जेन घले भैरवकुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्न निषेध गरिएको बताउँछन्। यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनसमेत झल्काउने उनको भनाइ छ।
भैरवकुण्डसँग तामाङ समुदायको गोले थरको विशिष्ट कुलपरम्परा पनि जोडिएको छ। पुर्ख्यौली कथनअनुसार प्राचीनकालमा गोले थरका एक झाँक्री कुण्डको विषालु नागलाई वशमा पार्न भित्र पसेका थिए। कुण्डभित्र रहँदासम्म उनले श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन अह्राएका थिए।
तर, लामो सङ्घर्षपछि नागलाई पराजित गरी झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर श्रीमती आत्तिइन्। उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर भागेपछि शक्ति कमजोर भएका झाँक्रीको नागले बेरेर ज्यान लिएको किंवदन्ती छ। यही घटनाका कारण गोले थरका मानिस आजसम्म भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने चलन छ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले गोले समुदायमा यो कुलपरम्परा अझै कायमै रहेको बताए। यस्ता मौखिक इतिहास र अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उनको भनाइ छ।
सम्पादनसहित प्रकाशित राससको सामग्री
कात्तिक २७, २०८३ शुक्रबार ०७:३९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।