‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प्लेअफमा स्थान बनाएपछि सुदूरपश्चिम रोयल्सका बलर हेमन्त धामीले जनकपुर बोल्ट्स छाडेर सुदूरपश्चिम आउने आफ्नो निर्णय सही साबित भएको बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १२६ रनको सामान्य लक्ष्य रक्षा गर्ने क्रममा ‘डेथ ओभर’ मा कसिलो बलिङ गरेका धामीले खेलपछिको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

पहिलो सिजनमा जनकपुरबाट पर्याप्त अवसर नपाएपछि अक्सनमार्फत सुदूरपश्चिम आएका उनले नयाँ टोलीमा आफ्नो क्षमता देखाउन पाएको उल्लेख गरे।

“पहिलो सिजनमा जनकपुरबाट त्यति अवसर पाएको थिइनँ,” धामीले भने, “सुदूरपश्चिम आएपछि राम्रो मौका पाएँ र आफूलाई प्रमाणित पनि गरेँ। पावरप्ले र डेथ दुवै ओभरमा राम्रो गरिरहेकाले सुदूरपश्चिम आउने निर्णय मेरा लागि सही रह्यो।”

काठमाडौंविरुद्ध १ विकेट लिएर २५ रन खर्चेका धामीले अन्तिम ओभरहरूको आफ्नो रणनीतिसमेत खुलाए। बल पिचमा घुमिरहेकाले ब्याटरलाई गति (पेस) नदिई ‘कटर’ फाल्ने साधारण योजना बनाएर बलिङ गरेको उनले बताए।

“अन्तिम ओभर बलिङ गर्न जाँदा विकेटले मलाई साथ दिइरहेको थियो, त्यसैले रन बचाउन सकिन्छ भन्नेमा म पूर्ण विश्वस्त थिएँ”, उनले भने।

अघिल्लो सिजनमा नयाँ बलले मात्र बलिङ गर्ने र त्यहीँबाट विकेट निकाल्ने गरेका धामीले यस सिजनमा भने डेथ ओभरको बलिङमा समेत उल्लेख्य सुधार भएको बताए। आफ्नो खेल निखारिनुमा न्युजिल्यान्डका अनुभवी बलर स्कट कुगेलेइनसँगको सहकार्य र सिनियर राष्ट्रिय टिमसँगको अनुभवले ठूलो भूमिका खेलेको उनको भनाइ छ।

“स्कट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका अनुभवी खेलाडी भएकाले उनीसँग ओपनिङ स्पेल र प्रशिक्षणमा काम गर्दा धेरै सिक्न पाएको छु,” धामीले भने, “उनले पावरप्ले र परिस्थितिअनुसार डेथ ओभरमा कसरी बलिङ गर्ने भनेर सिकाइरहन्छन्। त्यस्तै, सिनियर राष्ट्रिय टिमसँग दुई-तीनवटा भ्रमणमा सँगै रहँदा र प्रशिक्षण गर्दा एनपीएलमा प्रदर्शन सुधार्न ठूलो मद्दत मिल्यो।”

सिनियर राष्ट्रिय टिमको नियमित प्लेइङ-११ मा स्थान बनाउने सन्दर्भमा उनले निरन्तर मिहिनेत र प्रदर्शन गरिरहेकाले छिट्टै आफ्नो समय पनि आउने विश्वास व्यक्त गरे। काठमाडौँविरुद्धको जितसँगै ७ खेलबाट १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ।

कात्तिक २७, २०८३ शुक्रबार १७:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।