पोहोर कप्तानीबाट हटाइए, अहिले प्लेइङ-११ मै ठाउँ छैन

पोहोर कप्तानीबाट हटाइए, अहिले प्लेइङ-११ मै ठाउँ छैन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत चितवन राइनोजविरुद्धको निर्णायक खेलमा जनकपुर बोल्ट्सले पूर्वकप्तान तथा विकेटकिपर-ब्याटर अनिलकुमार साहलाई प्लेइङ-११  बाटै बाहिर राखेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको प्रतियोगिताको २५औं खेलमा टसपछि जनकपुरले पहिले ब्याटिङ गर्ने भएको हो।

पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाएका साहले गत वर्ष खराब फर्मका कारण बीच सिजनमै कप्तानी गुमाए।

यसअघि भएको सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा टोलीमा स्थान बनाउँदै विकेटकिपिङसमेत सम्हालेका साहलाई आजको महत्त्वपूर्ण भिडन्तमा भने टोली व्यवस्थापनले वैकल्पिक सूचीमा सीमित गरिदिएको छ।

टोलीले जारी सिजनको समूह चरणको छ खेलमा साहलाई टोलीमा समावेश गरे पनि आजको खेलमा भने स्थान दिएको छैन।

साह बाहिरिएसँगै जनकपुरले आज सन्तोष कार्कीलाई प्लेइङ-११ मा समेटेर विकेटकिपिङको जिम्मेवारी सुम्पिएको छ।

लिग चरणको आफ्नो अन्तिम खेल खेलिरहेको जनकपुरका लागि आजको भिडन्त ‘गर या मर’ सरह बनेको छ।

६ खेलबाट ४ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको झिनो आशा जोगाइराख्न आज जित्नैपर्ने दबाब छ। यता, ५ खेलबाट ५ अंक जोडेर पाँचौँ स्थानमा रहेको चितवन भने जित हात पार्दै शीर्ष चारको दाबेदारी थप बलियो बनाउने लक्ष्यमा छ ।

आजको खेलमा जनकपुरको कप्तानी हरमीत सिंहले सम्हालेका छन्। जनकपुरले विदेशी कोटामा कप्तान हरमीतसहित जेम्स नीशम, रायन बर्ल र ह्यारी टेक्टरलाई मैदान उतारेको छ।

यता, सिकन्दर रजाको कप्तानीमा मैदान उत्रिन लागेको चितवनले रजासँगै डेविड मलान, रवि बोपारा र कामिल मिशारालाई विदेशी खेलाडीका रूपमा प्लेइङ–११ मा राखेको छ । उसामा मिर, ड्यान मोस्ली र टम टेलर भने बेन्चमा रहेका छन्।

दुवै टोलीको प्लेइङ-११ :
जनकपुर बोल्ट्स :
हरमीत सिंह (कप्तान), सन्तोष कार्की (विकेटकिपर), विशाल सुस्लिङ, राहुल यादव, ललितनारायण राजवंशी, आदित्य महता, त्रितराज दास, अभिषेक तिवारी, जेम्स नीशम, रायन बर्ल र ह्यारी टेक्टर।

चितवन राइनोज : सिकन्दर रजा (कप्तान), कुशल मल्ल, अर्जुन साउद (विकेटकिपर), डेविड मलान, रवि बोपारा, कामिल मिशारा, विवेककुमार यादव, कमलसिंह ऐरी, रिजन ढकाल, रञ्जित कुमार र मौसम ढकाल।

कात्तिक २७, २०८३ शुक्रबार १६:४८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।