काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपिएलको प्लेअफमा

काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपिएलको प्लेअफमा

काठमाडौं : सुदूरपश्चिम रोयल्स जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान सुरक्षित गरेको हो। यो जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा १० अंक जोड्यो।

एनपिएलमा लगातार प्लेअफ पुग्ने सुदूरपश्चिम एक्लो टोली पनि हो। काठमाडौंको भने आठ अंक रहेको छ। उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ। सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो। 

जसमा रासिद खानले ३५, दुसान हेमान्थाले २१ रन जोडे। सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए। यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो।

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे। यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए।

८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए। यी दुवै ब्याटरबीच ५४ रनको साझेदारी भयो। काठमाडौंका जहानदाद खानले ३, सन्तोष यादवले २ विकेट लिए।

कात्तिक २७, २०८३ शुक्रबार १६:१८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।