नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो
काठमाडौं : पशुपतिनाथ मन्दिरको दर्शन र घुमघामका लागि भारतबाट नेपाल आएका भारतीय मोटो भ्लगर सोनु मालीको चोरी भएको मोटरसाइकल नेपाल प्रहरीले चार दिनमा फेला पारी हस्तान्तरण गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अनुसार काठमाडौं महानगरपालिका-८, रातोपुल नजिकको सडक पेटीमा पार्किङ गरी राखिएको मालीको भारतीय नम्बर प्लेटको ‘ड्युक ३९०’ मोटरसाइकल कात्तिक २१ गते राति चोरी भएको थियो।
चोरीसम्बन्धी जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाले विभिन्न स्थानका सिसीटिभी फुटेज हेरेर खोजीलाई तीव्र बनाएको थियो।
खोजतलासकै क्रममा प्रहरीले कात्तिक २५ गते काठमाडौंको कालिमाटी कुलेश्वर क्षेत्रबाट उक्त मोटरसाइकल फेला पारेको हो।
फेला परेको मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी प्रहरी वृत्त गौशालाबाट सवारीधनी मालीलाई जिम्मा लगाइएको छ।
दीपावलीको समयमा मोटरसाइकल चोरी भएपछि निकै निराश बनेका मालीले पशुपतिनाथ मन्दिर परिसरबाटै भगवान् शिवसँग मोटरसाइकल भेटिने कामना गर्दै भावनात्मक भिडियो सार्वजनिक गरेका थिए।
आजसम्म हजारौँ मन्दिर दर्शन गर्दा कहिल्यै केही नमागेको तर पहिलो पटक बाबासँग सहयोग मागेको उनले उक्त भिडियोमा बताएका थिए।
प्रहरीले चार दिनभित्रै मोटरसाइकल खोजेर फिर्ता गरिदिएपछि मालीले नेपाल सरकार र नेपाल प्रहरीप्रति आभार व्यक्त गरेका छन्।
‘मैले आशा मारिसकेको थिएँ, तर भगवान्ले कुनै न कुनै रूपमा मद्दत गर्नुहुन्छ भन्ने विश्वास थियो,’ मोटरसाइकल बुझ्दै उनले भने, ‘नेपाल प्रहरी र गौशाला वृत्तका अधिकारीहरूको सक्रियता तथा सिसीटिभी जाँचका कारण चार दिनमै मेरो बाइक भेटियो।’
प्रहरीले मोटरसाइकल चोरी घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।
कात्तिक २७, २०८३ शुक्रबार १०:४०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।