होर्मुज खोल्न आफ्ना सर्त पूरा हुनुपर्ने इरानको अडान
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको दाबी गरिरहेका बेला इरानले भने ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न अमेरिकाले आफ्ना सर्तहरू पूरा गर्नुपर्ने स्पष्ट पारेको छ।
मध्यपूर्वमा चर्किएको द्वन्द्व अन्त्यका लागि यतिखेर कतार र पाकिस्तानले कूटनीतिक मध्यस्थता गरिरहेका छन्।
गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि यो युद्ध सुरु भएको थियो। द्वन्द्व सुरु भएयता बन्द रहेको विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्ग ‘होर्मुज’ अमेरिकाले आफ्ना सर्तहरू माने दुई दिनभित्रै खोल्न सकिने इरानले जनाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले सरकारी समाचार संस्था ‘इर्ना’सँग कुरा गर्दै सैन्य कारबाही वा थप प्रतिबन्धले संकट समाधान नहुने बताए। उनले इरानका मागहरू सम्बोधन गरेर कूटनीतिक वार्तामा आउनु नै समस्या समाधानको एक मात्र उपाय भएको उल्लेख गरे।
इरानले अघि सारेका सर्तहरूमा सबै मोर्चामा तत्काल युद्ध रोक्नुपर्ने, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउनुपर्ने र इरानी बन्दरगाहहरूमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने विषय समावेश छन्।
यसअघि सोमबार कतारका प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताएका थिए। मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि वासिङ्टनले इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी केही नरम बनाएको देखिन्छ।
सामाजिक सञ्जालमा ट्रम्पले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै खाडी क्षेत्रका सहयोगी मुलुकहरू यथास्थिति चाहने भएकाले थप आक्रमणको सम्भावना न्यून रहेको बताए। अमेरिकी हितलाई सुरक्षित राख्दै युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक माहोल बनेको उनको दाबी थियो।
उता, कतारको विदेश मन्त्रालयका अधिकारी इब्राहिम अल-हास्मीले पनि वार्तामा प्रगति भइरहेको जानकारी दिए। मध्यस्थकर्ताहरूले दुवै पक्षबीचको दूरी घटाउन निरन्तर प्रयास गरिरहेको र आफूहरू नतिजाप्रति आशावादी रहेको उनले बताए।
इरानी राजनीतिक विश्लेषक अली बिगदेलीका अनुसार मध्यावधि निर्वाचनपछि वासिङ्टन वार्तामा केही लचिलो बनेको देखिए पनि इरानका कडा मागहरू स्वीकार गर्न अमेरिकालाई सहज छैन। दुवै देशबीचको गहिरो अविश्वासले गर्दा समाधान अझै जटिल रहेको उनको विश्लेषण छ।
यसैबीच, इरानका सुरक्षा अधिकारी मोहसेन रेजाईले अमेरिकालाई इरानी माग स्वीकारेर युद्ध टुङ्ग्याउन आग्रह गरेका छन्।
युद्ध फेरि चर्किने डरले खाडी क्षेत्रका मुलुकहरू पनि चिन्तित छन्। संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले कूटनीतिक बाटोबाटै खाडीमा दिगो शान्ति र स्थिरता आउने विश्वास व्यक्त गरे।
यद्यपि, लामो समयसम्म अनिश्चितता कायम रहे क्षेत्रीय स्थिरता र संकटको निर्णायक समाधान दुवै प्रभावित हुने चेतावनी उनले दिए।
यसैबीच, क्षेत्रीय तनाव कायमै रहेका बेला साउदी अरबको राजधानी रियादमा विस्फोटका ठूला आवाजहरू सुनिएका छन्। साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी विद्रोहीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आकाशमै निष्क्रिय पारेको जनाएको छ।
अर्कातर्फ, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानविरुद्धको सैन्य अभियान अझै पूरा नभएको दाबी गरेका छन् भने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिइरहेका छन्।
यद्यपि, सम्भावित नयाँ आक्रमणलाई राष्ट्रपति ट्रम्पले साथ दिन्छन् वा दिँदैनन् भन्ने विषय भने अझै स्पष्ट भइसकेको छैन।
कात्तिक २४, २०८३ मंगलबार २०:०८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।