देउसी-भैलोमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीबाट दुई महिला पक्राउ

देउसी-भैलोमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीबाट दुई महिला पक्राउ

काठमाडौं : देउसी-भैलो कार्यक्रमको नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट दुई महिला पक्राउ परेका छन्।

बुधबार राति करिब १२ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० स्थित महिलावार बजारबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया प्राप्ती बस्नेत रहेका छन्।

जिल्लाका विभिन्न स्थानहरूमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसी-भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरिएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

उनीहरू दुवै जनाविरुद्ध सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

परम्परागत देउसी-भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण विपरीत अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा सङ्गीत प्रदर्शन नगर्न पनि प्रहरीले आग्रह गरेको छ। यदि स्वैच्छिक रूपमा त्यस्ता गतिविधि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ। 

कात्तिक २६, २०८३ बिहीबार ०९:५९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।