सप्तरङ्गी टीका र ढाकाटोपीमा सजिए १५ देशका विदेशी पर्यटक
कास्की : हिन्दु नेपालीहरूको चाड तिहारको सांस्कृतिक उल्लासमा पोखरा पुगेका विदेशी पर्यटकहरू पनि झुमेका छन्।
होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा-६, लेकसाइडस्थित होटल पौवामा आयोजित ‘१९औँ भाइटीका महोत्सव’मा १५ देशका ५१ जना पर्यटकले परम्परागत विधिअनुसार भाइटीका मनाएका हुन्।
महोत्सवमा ‘रेन्बो चिल्ड्रेन होम नेपाल’का छात्राहरूले विदेशी पर्यटकलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिएका थिए। टीका ग्रहण गरेपछि पुरुष पर्यटकलाई नेपाली पहिचान झल्किने ढाकाटोपी र महिला पर्यटकलाई पछ्यौरा उपहार प्रदान गरिएको थियो।
नेपाली परम्पराअनुसार भाइटीका लगाउन पाउँदा पर्यटकहरू निकै उत्साहित देखिन्थे। निधारमा टीका र गलामा माला पहिरिएका उनीहरूले देउसीभैलोको तालमा नेपालीसँगै कम्मर मर्काए भने परम्परागत नेपाली परिकार सेलरोटीको स्वादसमेत लिए। महोत्सवमा अमेरिका, बेलायत, चीन, जापान र अस्ट्रेलियालगायतका देशका पर्यटक सहभागी थिए।
महोत्सवमा सहभागी लिथुआनियाकी पर्यटक मोनिकाले नेपालीहरूको आत्मीय व्यवहार र तिहारको रौनकताले आफूलाई मन्त्रमुग्ध बनाएको बताइन्।
“प्रतिकूल मौसमका कारण मर्दी हिमाल पदयात्रा सोचेजस्तो हुन सकेको थिएन, तर भाइटीकाको यो मौलिक अनुभवले मेरो नेपाल बसाइलाई सधैँका लागि स्मरणीय बनाइदियो,” उनले भनिन्, “स्वदेश फर्किएपछि यहाँको न्यानो आतिथ्य र सुन्दर संस्कृतिबारे साथीहरूलाई सुनाउनेछु।”
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले विगत १९ वर्षदेखि यो महोत्सवलाई निरन्तरता दिइँदै आएको जानकारी दिए।
“यस महोत्सवले तिहारको सांस्कृतिक महत्त्वलाई विश्वभर चिनाउन ठूलो मद्दत पुर्याएको छ,” उनले भने, “हाम्रो यो प्रयासपछि अहिले पोखराका अन्य होटलहरूले पनि आ-आफ्नो तवरबाट पर्यटकलाई भाइटीका लगाइदिने चलन सुरु गरेका छन्।”
उक्त भाइटीका महोत्सवलाई नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका हुन्।
कात्तिक २५, २०८३ बुधबार २०:३९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।