सात वर्षपछि स्कटल्यान्डको राष्ट्रिय टोलीमा फर्किए डेभिड बेट्स
एजेन्सी : टर्कीको क्लब अमेडस्पोरबाट व्यावसायिक फुटबल खेलिरहेका सेन्टर-ब्याक डेभिड बेट्स सात वर्षपछि पहिलो पटक स्कटल्यान्डको राष्ट्रिय टोलीमा पुनरागमन गर्न सफल भएका छन्।
आगामी अन्तर्राष्ट्रिय खेलहरूका लागि डिफेन्डर लुइस बिङ्क्स टोलीबाट बाहिरिएपछि उनको स्थानमा बेट्सलाई समावेश गरिएको हो।
३० वर्षीय बेट्सले सन् २०१९ मा स्कटल्यान्डका लागि चौथो तथा अन्तिम खेल खेलेका थिए।
त्यसयता राष्ट्रिय टोलीबाहिर रहेका उनले स्कटल्यान्डबाहेक इंग्ल्यान्ड, जर्मनी र बेल्जियमका क्लबहरूबाट खेलिसकेका छन्। उनले आफ्नो व्यावसायिक करिअरमा सबैभन्दा धेरै खेल बेल्जियमको क्लब ‘मेचेलेन’बाट खेलेका छन्।
टोलीबाट नाम फिर्ता लिएका ब्रुन्डबीका डिफेन्डर बिङ्क्सले नेसन्स लिगका सुरुवाती चार खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गर्दै तीन खेल खेलेका थिए।
मुख्य प्रशिक्षक सेबास्टियन पोकोग्नोलीको डिफेन्स लाइनमा बेट्ससँगै ल्युक ग्राहम, ज्याक हेन्ड्री र रायन पोर्टियस रहेका छन्।
यद्यपि, प्रशिक्षकको प्राथमिकतामा पर्ने ‘थ्री-म्यान डिफेन्स’ (तीन डिफेन्डर खेलाउने रणनीति) मा लेफ्ट-ब्याक किएरन टिएर्नीले पनि सेन्टर-ब्याककै भूमिका सम्हाल्न सक्छन्।
स्कटल्यान्डले अब नर्थ म्यासेडोनिया र स्विट्जरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ। टोलीले शुक्रबार घरेलु मैदान ह्याम्पडेन पार्कमा नर्थ म्यासेडोनियाको आतिथ्य गर्नेछ।
जारी समूहमा हालसम्म कुनै अङ्क जोड्न नसकेको नर्थ म्यासेडोनिया पुछारमा छ।
चार अङ्क बटुलेको स्कटल्यान्डभन्दा स्लोभेनिया तीन अङ्कले अगाडि छ भने सबै खेल जितेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ। सोमबार स्कटल्यान्डले स्विट्जरल्यान्डको भ्रमण गर्नेछ।
कात्तिक २५, २०८३ बुधबार २०:०१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।