ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त हुँदै टोपबहादुर रायमाझी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार कैदमुक्त हुँदै छन्। 

६५ वर्ष उमेर पुगेका कारण ज्येष्ठ नागरिकको कानुनी सुविधाअन्तर्गत कैद छुट पाएर उनी तीन वर्ष छ महिनापछि डिल्लीबजार कारागारबाट छुट्न लागेका हुन्।

रायमाझीले ६५ वर्ष उमेर पुगेको प्रमाणसहित ज्येष्ठ नागरिकको सुविधा पाउन काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा गत कात्तिक १३ गते अदालतले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार कैद छुट दिने निर्णय गर्दै कैदमुक्त गर्न आदेश दिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी प्रकरणमा रायमाझी २०८० वैशाखमा पक्राउ परेका थिए। २०८३ असार ३० गते उनलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले एकीकृत कसुरतर्फ चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो।

अदालतले उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार जरिबाना ठहर गरेको थियो। 

कात्तिक २६, २०८३ बिहीबार ०७:५९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।