पूर्वी नाकामा घट्यो भारतीय तरकारीको आयात, असोजसम्म ५ करोड १४ लाख राजस्व
भद्रपुर : पूर्वी नाका काँकडभिट्टा भएर भित्रिने ताजा तरकारी तथा कृषि उपजको आयातमा कमी आएसँगै यसबाट सङ्कलन हुने भन्सार राजस्वमा करिब २१ प्रतिशतले गिरावट आएको छ।
मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (असोज मसान्त) सम्म कृषि उपज आयातबाट ५ करोड १४ लाख ९ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ६ करोड ५१ लाख ४ हजार रुपैयाँ थियो।
भन्सार तथ्याङ्कअनुसार विशेषगरी लसुन, मसुरो, आलु र केराउको आयात घट्दा त्यसको प्रत्यक्ष असर समग्र राजस्व सङ्कलनमा परेको हो।
गत वर्षको असोज मसान्तसम्म लसुन आयातबाट २ करोड ७८ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएकामा चालु आवको सोही अवधिमा घटेर २ करोड २० लाख ८३ हजार रुपैयाँमा सीमित भएको छ।
त्यस्तै, मसुरो आयातबाट प्राप्त हुने राजस्वमा झनै ठूलो गिरावट आएको छ। गत वर्ष १ करोड ३२ लाख ५७ हजार रुपैयाँ सङ्कलन भएको मसुरोबाट यस वर्ष मात्र २० लाख १८ हजार रुपैयाँ उठेको छ।
यद्यपि, सबै कृषि उपजको आयात भने घटेको छैन। कार्यालयका अनुसार भिण्डी, राजमा, गोलभेँडा र प्याजको आयात तथा त्यसबापतको राजस्व भने बढेको छ।
सीमा नाकाबाट तरकारी तथा कृषिजन्य वस्तुको आयात घट्नुलाई आन्तरिक बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको सङ्केतका रूपमा समेत हेरिएको छ।
स्थानीय उत्पादनले बजार पाउँदा एकातिर भारतीय कृषि उपजमाथिको निर्भरता घट्दै जाने र किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ भने अर्कोतर्फ सीमावर्ती व्यापारको संरचनामा पनि परिवर्तन देखिन थालेको छ।
कात्तिक २५, २०८३ बुधबार २१:१२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।