पोखरा आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन

पोखरा आन्तरिक राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ।

सो अवधिमा एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व उठाउने लक्ष्य राखिएकामा एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ११३ प्रतिशत प्रगति हो।

कार्यालयका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाका अनुसार असोज मसान्तसम्मको लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार बढी राजस्व सङ्कलन भएको छ। नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायतका कार्यक्रमका कारण राजस्व सङ्कलनमा उत्साहजनक सुधार आएको उनले बताए। 

यस अवधिमा आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार सङ्कलनको लक्ष्य राखिएकोमा एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उनले जानकारी दिए। 

घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए। एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा एक करोड ३१ लाख ३८ हजार (७२ प्रतिशत) जम्मा भएको छ।

त्यस्तै ब्याजकरतर्फ नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए। 

मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए। ५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भयो। 

अन्तःशुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए। 

छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्तःशुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् आठ करोड ८३ लाख २२ हजार संकलन भएको उनले बताए। अन्य करमा ६१ लाख ७६ हजार लक्ष्य तोकिएकामा दुई करोड ३७ लाख ६ हजार जम्मा भएको छ।

नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए। 

कात्तिक २५, २०८३ बुधबार १५:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।