ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा १२ तले कर्पोरेट भवन बनाउँदै

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा आफ्नो अत्याधुनिक तथा वातावरणमैत्री कर्पोरेट भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ।

शुक्रबार आयोजित समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गरेर भवन निर्माणको शुभारम्भ गरेका हुन्।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने उक्त १२ तले भवनमा दुई तलाको भूमिगत पार्किङ, एउटा ग्राउन्ड फ्लोर र नौ वटा माथिल्ला तला रहनेछन्।

भवनलाई ऊर्जा बचत गर्ने शैलीमा ढाल्नुका साथै सौर्य ऊर्जा र आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणालीसहित उपत्यकाकै नमुना संरचनाका रूपमा विकास गर्न लागिएको बैंकले जनाएको छ।

समारोहमा बोल्दै अध्यक्ष ढकालले यो संरचना वाणिज्य बैंकहरूका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो हुने उल्लेख गर्दै यसले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई केन्द्रमा राखेर आधुनिक इन्जिनियरिङ र वातावरणीय सन्तुलनलाई प्राथमिकता दिइएको बताए।

देशका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गरेको बैंकले आफ्ना १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत आधुनिक बैंकिङ सेवा तथा विप्रेषण प्रवाह गर्दै आइरहेको छ।

कात्तिक २२, २०८३ आइतबार २०:२२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।