आइएमई लाइफले ल्यायो लोयल्टी बोनससहितको ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’
काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बचत र जीवन सुरक्षालाई समेट्दै नयाँ ‘आइएमई बिग सावधिक जीवन बीमा योजना’ सार्वजनिक गरेको छ।
कम्पनीले लक्ष्मीपूजाको अवसर पारेर लोयल्टी बोनसको थप सुविधासहित यो योजना बजारमा ल्याएको हो।
यस योजनाअन्तर्गत बीमा अवधिभर जीवित रहेमा बीमितले बीमाङ्क रकम, आर्जित बोनस तथा लोयल्टी बोनस एकमुष्ट प्राप्त गर्नेछन्।
अवधि नसकिँदै बीमितको मृत्यु भएमा पनि परिवारले नियमानुसार बीमाङ्क रकमका साथै बोनस र लोयल्टी बोनस पाउने व्यवस्था गरिएको छ।
१८ देखि ६० वर्ष उमेर समूहका व्यक्ति सहभागी हुन सक्ने यस योजनाको अवधि १० देखि २५ वर्षसम्मको हुनेछ भने न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तोकिएको छ।
योजनामा कर्जा सुविधा, कर छुट तथा दुर्घटना लाभ र काजक्रिया खर्चजस्ता पूरक सुविधाहरू पनि समावेश छन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बीमालेखलाई निरन्तरता दिने बीमितलाई प्रोत्साहन गर्न र दीर्घकालीन आर्थिक सुरक्षासँगै अतिरिक्त लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको जानकारी दिए।
कात्तिक २२, २०८३ आइतबार २०:२५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।