झापामा खानेपानीको महसुल घट्यो, १० हजार लिटरसम्मको पानी अब १७५ रुपैयाँमै

झापामा खानेपानीको महसुल घट्यो, १० हजार लिटरसम्मको पानी अब १७५ रुपैयाँमै

झापा : निम्नवर्गीय उपभोक्तालाई राहत पुर्याउने उद्देश्यले झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मासिक खानेपानी महसुल घटाएको छ।

मेचीनगर नगरपालिकाको वडा नं. ११, १२ र १३ का बासिन्दलाई शुद्ध खानेपानी वितरण गर्दै आएको यस संस्थाले साधारणसभाबाट महसुल घटाउने प्रस्ताव पारित गरेको हो।

समितिका अध्यक्ष राजन चिमौरियाका अनुसार शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएकाले निम्नवर्गीय परिवारको पहुँच सहज बनाउन यो निर्णय गरिएको हो।

१० हजार लिटरसम्मको पानीका लागि यसअघि मासिक २०० रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब १७५ रुपैयाँ मात्र तिर्नुपर्नेछ। १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल ३० तिर्नुपर्नेछ। यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले ३२ तिर्दै आएका थिए। 

यस्तै, मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको ४२ तिर्दै आएकोमा अब ४० मात्र तिर्नुपर्ने भएको छ। यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक ६५ तिर्नु परिरहेकोमा अब ६० तिर्नुपर्ने छ।

साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मङ्सिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिए। संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन्।

कात्तिक २५, २०८३ बुधबार १५:०६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।