ममता काफ्ले प्रकरणमा फैसलाको प्रतीक्षा : जीवनभर जेलमा पर्न सक्छन् नरेश

ममता काफ्ले प्रकरणमा फैसलाको प्रतीक्षा : जीवनभर जेलमा पर्न सक्छन् नरेश

काठमाडौं : ममता काफ्ले भट्टको घटनामा दुवै पक्षको बहस सकिएपछि अब अदालतको फैसलाको प्रतीक्षा सुरु भएको छ। अमेरिका पुगेको नेपाली नर्स भट्ट बेपत्ता भएपछि उनकै श्रीमान् नरेशमाथि हत्याको अभियोग छ।

यो अभियोगबारे अदालतमा दुवै पक्षका कानुन व्यवसायीहरूले बहस सक्दा ममता जीवित नरहेको पुष्टि भयो। तर उनको हत्या हो या नरेशको दाबी जस्तै आत्महत्या त्यसबारे अदालतले केही भनेको छैन। फैसला बाँकी नै छ।

तर अदालतमा पेस भएका प्रमाण र नरेशकै बयानबाट भने यो हत्या पुष्टि हुन सक्ने जोखिम उच्च देखिन्छ। भर्जिनिया राज्यको कानुन र प्रिन्स विलियम काउन्टी अदालतमा दर्ता गरिएको अभियोग पत्रअनुसार नरेशमाथि मुख्य रूपमा तीनवटा गम्भीर फौजदारी अपराधहरू लगाइएको छ।

त्यसमा अत्यधिक क्रूरताका साथ हत्या गरिएको दाबी छ। यदि यो अभियोग ठहर भएमा कडा सजाय हुने सम्भावना छ नै। दोस्रोमा अदालतमा हत्या अभियोगको बहस सकिँदा पनि ममताको शव भने फेला परेको छैन।

ममताको हत्या गरेर शव लुकाएको अभियोग पनि नरेशमाथि नै छ। अमेरिकी कानुनमा प्रमाण नष्ट गर्ने नियतले शवलाई लुकाउनु वा बेपत्ता पार्नु छुट्टै गम्भीर अपराध हो। अर्को अभियोग जसरी नरेशले ममताको हत्यापछि शव लुकाउन प्रयोग गरेको विधि छ त्यसबारे हो।

उनले ममताको शव आराले काटेर प्लास्टिकको झोलाहरूमा राखेर विभिन्न फोहोर फाल्ने स्थानमा लगेर फ्याकेको आरोप छ। त्यसैको आधारमा उनीमाथि शवको अनादर तथा दुरुपयोग गरेको थप अभियोग छ।

बहस सकिएर अहिले मुद्दा निर्णायक मण्डलको निर्णयको चरणमा पुगिसकेको छ। यदि नरेश यी सबै अभियोगहरूमा दोषी ठहरिएमा उनलाई अमेरिकी कानुन अनुसार जन्मकैद वा सोभन्दा पनि बढीको कठोर सजाय हुन सक्छ। अर्थात् उनी जीवनभर कारागारमा बस्नु पर्ने छ।

आफ्नै बयानले बढाएको जोखिम

ममताको घटनामा नरेशले निरन्तर रूपमा ममता हराएको र आफू पनि खोजीमा रहेको दाबी गर्दै आएकोमा उनले सुनुवाइकाक्रममा पहिलो पटक ममता जीवित नरहेको र उनको शव आफूले व्यवस्थापन गरेको स्वीकार गरे।

उनले सुनुवाइकाक्रममा ममताको शव विद्युतीय आराको प्रयोग गरेर टुक्रा-टुक्रा पारेको र तिनलाई फोहोरको झोला मा हालेर विभिन्न स्थानमा लगेर फालेको अदालतसमक्ष स्वीकारे।

तर, उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका छन्। नरेशले सन् २०२४ जुलाई २९ को राति उनी घर फर्किँदा ममता बेडरुमको भुईँमा अचेत अवस्थामा रहेको र उनले बान्ता गरेको जस्तो देखियो दाबी गरे।

उनले ममताले आफैँ अत्यधिक औषधि सेवन गरेर आत्महत्या गरेको र आफू फस्ने भयले उनको शव काटेर व्यवस्थापन गरेको दाबी गरेका थिए।

बहसकोक्रममा सरकारी वकिलहरूले नरेशको यो दाबी अस्वीकार गर्दै अदालतमा ८० भन्दा बढी साक्षीहरू, फरेन्सिक विशेषज्ञहरू, छिमेकीहरू र सहकर्मीहरूको बयान दर्ता गराएका थिए।

बयानकोक्रममा उनले बारम्बार झुट बोलेकोबारे सरकारी वकिलले प्रश्न गर्दा ममताबारे निरन्तर झुट बोलेको स्विकारे पनि हत्या अभियोग भने अस्वीकार गरे।

ममताको शरीर फेला नपरे पनि अभियोजन पक्षले वैज्ञानिक प्रमाणहरू पेस गरेको थियो। त्यसमा मुख्य बेडरुम र बाथरुममा विशेष रसायन छर्कँदा देखिएका रगतका टाटाहरू ममताकै हुन् भन्ने डिएनए परीक्षणबाट पुष्टि भएको छ। यसका साथै, नरेशले होम डिपोबाट किनेको विद्युतीय आरामा समेत ममताको रगत र कपालका टुक्राहरू भेटिएको फरेन्सिक रिपोर्ट अदालतमा पेस गरिएको छ।

कात्तिक २३, २०८३ सोमबार १६:५८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।