नेपाली समर्थकअगाडि शतक हान्न पाउनु अद्भूत अनुभव : युवराज सामरा

नेपाली समर्थकअगाडि शतक हान्न पाउनु अद्भूत अनुभव : युवराज सामरा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो शतक प्रहार गर्दै टोलीलाई पहिलो जित दिलाएका पोखरा एभेन्जर्सका क्यानाडेली ब्याटर युवराज सामराले आफ्नो शतक आमाबुवालाई समर्पित गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सविरुद्ध ४८ बलमा १०२ रनको विष्फोटक इनिङ खेलेपछि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली दर्शकमाझ क्रिकेट खेल्न पाउँदा निकै रोमाञ्चक र खुसी लागेको बताए।

खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सामराले क्यानडाबाट नेपाल आएर एनपिएल खेल्ने र समर्थकहरूको उत्साहपूर्ण उपस्थितिमा शतक बनाउने क्षण विशेष रहेको बताए।

आफ्नो खेल जीवनमा आमाबुवाको योगदान अतुलनीय रहेको स्मरण गर्दै उनले भने, ‘यो शतक म मेरा बुवा र आमालाई समर्पित गर्न चाहन्छु। मलाई यहाँसम्म पुर्याउन उहाँहरूले गर्नुभएको मेहनत र लगानीकै कारण आज म यो स्थानमा छु।’

आफ्नो ब्याटिङ शैलीबारे बोल्दै उनले खेललाई धेरै जटिल नबनाई सीधा मैदानतर्फ बल प्रहार गर्ने योजनामा केन्द्रित रहेको बताए। अर्को एन्डमा रहेका ब्याटरहरूलाई केही कठिन भए पनि आफ्नो मुख्य लक्ष्य पावरप्लेमा बलरहरूलाई दबाबमा राख्नु रहेको उनको भनाइ थियो।

सामराले भने, ‘मेरो रणनीति सधैँ बलरलाई दबाबमा राख्ने र पावरप्लेमा हाबी हुने नै हुन्छ। बल आए प्रहार गर्ने, नभए स्ट्राइक रोटेट गर्ने सरल सोचका साथ मैदान उत्रिएको थिएँ।’

विश्वका विभिन्न लिगमा स्टिभ स्मिथ र टिम डेविडजस्ता दिग्गज खेलाडीसँग ड्रेसिङ रुम साझा गरेका सामराले उनीहरूबाट खेललाई सरल र संयमित राख्ने कला सिकेको उल्लेख गरे।

‘उनीहरूबाट मैले खेललाई जटिल नबनाई सकेसम्म सरल राखेर खेल्नुपर्छ भन्ने सिकेँ’, उनले थपे।

यसैगरी उनले टोलीका बलर शेख मेहदी हसनको प्रशंसा गर्दै उनले स्पिन र ग्रिपमार्फत विपक्षी ब्याटरहरूलाई कडा चुनौती दिएको बताए।

लगातार चार हारपछि पहिलो जित निकाल्न सफल पोखराको प्लेअफ सम्भावनाबारे बोल्दै सामराले अझै दुई खेल बाँकी रहेको र टोलीले आजकै जस्तो प्रदर्शन जारी राखे शीर्ष चार (प्लेअफ) मा पुग्ने राम्रो सम्भावना जीवितै रहेको विश्वास व्यक्त गरे।

उक्त खेलमा पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रनको विशाल योगफल खडा गरेको थियो, जहाँ सामराको १०२ रनको योगदान रह्यो। २१८ रनको लक्ष्य पछ्याएको कर्णालीलाई पोखराले १५४ रनमै समेट्दै ६३ रनको सानदार जित दर्ता गर्यो।

कात्तिक २३, २०८३ सोमबार १९:३५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।