पोल्यान्डको क्राकोभमा अन्धाधुन्ध गोलीबारी : परिवारका तीन सदस्यसहित ९ जनाको मृत्यु, घटनालाई ‘आतङ्कवादी हमला’ ठहर
एजेन्सी : पोल्यान्डको दोस्रो ठूलो तथा प्रमुख पर्यटकीय सहर क्राकोभको मुख्य बजार (मेन मार्केट स्क्वायर) मा शनिबार दिउँसो भएको एक विभत्स गोलीकाण्डमा ६ जना सर्वसाधारणको ज्यान गएको छ।
आक्रमणकारीका परिवारका तीन सदस्यसहित मृतकको कुल सङ्ख्या ९ पुगेको छ। घटनामा दुई जना प्रहरी अधिकारीसहित कम्तीमा १६ जना घाइते भएका छन्।
पोल्यान्डको राष्ट्रिय अभियोजक कार्यालयले यस घटनालाई औपचारिक रूपमै ‘आतङ्कवादी अपराध’ ठहर गर्दै अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालयका अनुसार आक्रमणकारी अति-दक्षिणपन्थी तथा उग्र-राष्ट्रवादी विचारधाराबाट प्रभावित रहेको पाइएको छ।
घटना कसरी घट्यो ?
शनिबार दिउँसो करिब ३ बजे सैनिक शैलीको पोशाक र बुलेटप्रुफ ज्याकेट लगाएका २४ वर्षीय पोल्यान्डकै नागरिकले कालो रङ्गको सुबारु कार हाँकेर पैदलयात्री मात्र हिँड्ने ऐतिहासिक ‘मेन मार्केट स्क्वायर’ भित्र तीव्र गतिमा गाडी प्रवेश गराएका थिए।
पर्यटक र स्थानीयले भरिभराउ स्क्वायरमा उनले कारको झ्यालबाट स्वचालित सैन्य राइफल प्रयोग गरी जथाभावी गोली चलाउन थाले। आक्रमणकारीले त्यहाँ गुडिरहेको एक ट्राम (रेल) माथि समेत अन्धाधुन्ध प्रहार गरेका थिए।
अचानक भएको गोलीको वर्षाले सहरभरि भागदौड मच्चिएको थियो; सर्वसाधारण ज्यान जोगाउन पसल, क्याफे र होटेलहरूमा लुक्न पुगेका थिए।
सूचना पाएको तीन मिनेटभित्रै सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए। प्रहरीसँगको तीव्र गतिमा गुडाउने क्रममा आक्रमणकारीको गाडी दुर्घटनाग्रस्त भएको थियो। त्यसपछि पनि उनले प्रहरीमाथि गोली चलाइरहे। प्रहरीले चलाएको गोली लागेर बन्दुकधारी गम्भीर घाइते भई नियन्त्रणमा आएका थिए।
आक्रमणअघि घरमै आमा, बुबा र बहिनीको हत्या
बजार क्षेत्रमा आक्रमण गर्नुअघि ती युवकले आफ्नै घरमा परिवारका सदस्यहरूको हत्या गरेको भयानक तथ्य खुलेको छ।
क्राकोभबाट करिब १४० किलोमिटर उत्तर-पूर्वमा पर्ने ‘ओस्त्रोविएक स्विएतोक्रिजस्की’ स्थित उनको घरमा प्रहरीले ५३ वर्षीय बुबा, ५२ वर्षीया आमा र २१ वर्षीया बहिनीको गोली लागेर मृत्यु भएको शव फेला पारेको छ।
प्रहरीका अनुसार उनले पहिले आफ्नै परिवारलाई गोली हानी मारेर हतियारसहित क्राकोभ सहर पुगेर आम नरसंहार मच्चाएका थिए।
आक्रमणकारी र उनका बुबासँग कानुनी रूपमै हतियार राख्ने इजाजतपत्र रहेको र घटनास्थल तथा उनको घरबाट गरी ११ थान हतियार बरामद भएको छ।
मृतक र घाइतेहरूको विवरण
मेन मार्केट स्क्वायरमा आक्रमणकारीको गोली लागेर चार महिला र दुई पुरुष गरी ६ जनाको घटनास्थल तथा उपचारका क्रममा ज्यान गएको थियो।
मृतकहरूमा तीन पोल्यान्डका महिला (६१, ५३ र ४७ वर्ष), एक पोल्यान्डका पुरुष (५० वर्ष), एक ३२ वर्षीय बेलायती पुरुष र एक ५१ वर्षीया अस्ट्रियाकी महिला हुन्।
घटनामा १६ जना घाइते भएका छन्। घाइते हुनेमा बेलायत, अस्ट्रिया, जर्मनी, पोर्चुगल र रुसका विदेशी नागरिकहरू समेत छन्।
प्रहरीको बहादुरी र राष्ट्रिय शोक
आक्रमणकारीलाई रोक्ने क्रममा दुई जना प्रहरी अधिकारी गम्भीर घाइते भएका थिए।
तीन राउण्ड गोली लागेका सिनियर कन्स्टेबल याकुब कुलिक र अर्का अधिकारी आर्तुर मोराङ्स्कीको अवस्था अहिले स्थिर बनेको छ।
क्राकोभका मेयर लुकास गिबालाले यी दुई प्रहरीले आफ्नो ज्यान जोखिममा हालेर सयौँको ज्यान जोगाएको भन्दै उनीहरूलाई सहरको ‘मानार्थ नागरिक’ सम्मान दिने प्रस्ताव गरेका छन्।
यस त्रासदीपूर्ण घटनापछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले देशभर दुई दिने राष्ट्रिय शोक (आइतबार र सोमबार) को घोषणा गरेका छन् भने क्राकोभ सहरमा बुधबारसम्म शोक छ।
युरोपमा तुलनात्मक रूपमा सुरक्षित मानिने पोल्यान्डमा यस्तो भयानक सामूहिक गोलीकाण्ड विरलै हुने गरेकाले यस घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको छ।
कात्तिक २२, २०८३ आइतबार २२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।