१२० रनमै रोकियो सुदूरपश्चिम, लक्ष्य पछ्याउँदा जनकपुर पनि धर्मरायो

१२० रनमै रोकियो सुदूरपश्चिम, लक्ष्य पछ्याउँदा जनकपुर पनि धर्मरायो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी २१औँ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कप्तान हरमित सिंहको घातक बलिङसामु सुदूरपश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रनमै समेटिएको हो। यद्यपि, जवाफी ब्याटिङमा आएको जनकपुरको सुरुआत पनि कमजोर देखिएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सको सुरुआत राम्रो हुन सकेन। ओपनर विनोद भण्डारी (१०) चौथो ओभरमै रनआउट हुन पुगे भने अर्का ओपनर सैफ जेब (१०) पनि लामो समय टिक्न सकेनन्। टोलीका लागि ब्रान्डन म्याकमुलनले २३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन जोडे।

मध्यक्रमका भरपर्दो ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐरी (१) र इसान पाण्डे (३) सस्तैमा आउट भएपछि सुदूरपश्चिम संकटमा परेको थियो। अन्त्यतिर थरिन्दु रत्नायकेले २८ बलमा अविजित २७ रन र आरिफ शेखले ११ रन जोड्दै टोलीलाई सम्मानजनक योगफलसम्म डोहोर्याए।

जनकपुरका कप्तान हरमित सिंहले खेलमा उत्कृष्ट स्पिन बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र १७ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। त्यस्तै ह्यारी टेक्टरले ४ ओभरमा मात्र ९ रन दिएर १ विकेट लिँदा किफायती प्रदर्शन गरे। राहुल यादव, आदित्य महतो र अभिषेक तिवारीको नाममा पनि १–१ विकेट रह्यो।

जनकपुरको धरमराउँदो सुरुआत: १८ रन जोड्दा २ विकेट गुम्यो
१२१ रनको सहज लक्ष्य पछ्याउँदै मैदान उत्रिएको जनकपुर बोल्ट्सले सुरुवातमै झट्का बेहोरेको छ। जनकपुरले ४ ओभरको समाप्तिमा २ विकेट गुमाएर मात्र १८ रन बनाएको छ।

टोलीका प्रमुख ओपनर अनिल साह (२) तेस्रो ओभरमा स्कट कुगेलेइनको बलमा विकेटकिपर विनोद भण्डारीबाट समातिए। त्यसलगत्तै अर्को ओभरमा आक्रामक खेल्ने प्रयास गरेका आदित्य महतो (१०) लाई हेमन्त धामीले अनिल खरेलको हातबाट क्याच आउट गराए।

हाल क्रिजमा त्रित राज दास (३ रन) र ह्यारी टेक्टर (१ रन) सम्हालिएर खेल्ने प्रयास गरिरहेका छन्। जनकपुरलाई जितका लागि अब ९६ बलमा १०३ रन आवश्यक छ भने सुदूरपश्चिमका बलरहरू विकेट लिँदै थप दबाब सिर्जना गर्ने रणनीतिमा छन्।

कात्तिक २४, २०८३ मंगलबार १९:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।