कर्णाली याक्सका डेभिड मिलर अनलाइन जुवाको प्रचारक, कानुन उलंघन गर्दा क्यान रमिते

कर्णाली याक्सका डेभिड मिलर अनलाइन जुवाको प्रचारक, कानुन उलंघन गर्दा क्यान रमिते

काठमाडौं : नेपालमा क्रिकेट लिगको रूपमा नेपाल प्रिमियम लिग(एनपिएल) सुरु भएसँगै कानुनले प्रतिबन्ध लगाएको अनलाइन जुवा खेलाउने कम्पनीहरूका लागि जुवाको लत बढाउन बलियो माध्यम बन्यो।

आयोजक नेपाल क्रिकेट संघ अन्तर्गतको गभर्निङ काउन्सिलको नेतृत्व क्रिकेट खेलाडी समेत रहेका पारस खड्का नै भए पनि उनले छद्म रूपमा एनपिएलबाट जुवाको प्रचार गराइरहे। पहिलो सिजनमा नेपालमा नामै नसुनिएको वुल्फत्रिपलसेभेनलाई परिचित बनाए। दोस्रो सिजनमा डाफाबेट भित्र्याए।

फागुन २१ को निर्वाचनसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट वालेन्द्र शाह प्रधानमन्त्री भएपछि सरकारले नेपालमा अनलाइन बेटिङ साइटहरूमाथि प्रतिबन्ध लगायो। नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई अनलाइन बेटिङ खेलाउने एप र साइट बन्द गर्न निर्देशन दियो।

एनपिएलमा अनलाइन जुवाको प्रचार गराउन नसक्ने भए पनि पारस खड्काको नेतृत्वमा रहेको गभर्निङ काउन्सिल रक्सीको छद्म विज्ञापनतिर लाग्यो। जुवा खेलाउने यस्ता एप र साइटहरूले नेपालीमाझ जुवाको लत बढाउन र आफ्नो प्रचारका लागि विभिन्न टिममा सहभागी भएका विदेशी खेलाडीहरूको प्रयोग सुरु गरेका छन्।

एनपिएलको तेस्रो सिजनमा पोखरा एभेन्जर्समा आबद्ध रहेका सकिब अल हसनले आफ्नो फेसबुक पेजबाट प्रतिबन्धित अनलाइन बेटिंग प्लेटफर्म वानएक्सबेटको प्रचार गरेका थिए। यसैमा मिसिए कर्णाली याक्ससँग आबद्ध दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याटर डेभिड मिलर।

मिलरले तिहारको शुभकामनाको बहानामा नेपालमा गैरकानुनी अनलाइन बेटिङ (जुवा) प्लेटफर्म ‘वुल्फ ७७७’ को खुला रूपमा प्रचार गरिरहेका छन्।

नेपाल र भारतलगायत दक्षिण एसियाली क्षेत्रमा उल्लासका साथ मनाइने तिहार तथा दीपावलीको अवसर पारेर मिलरले परम्परागत कुर्ता–सुरुवाल र इस्टकोट पहिरिएर बेटिङ साइटको प्रवर्द्धन गर्दै भिडियो सन्देश सार्वजनिक गरेका हुन्। यो बेटिङ एपलाई पारसले नै एनपिएलको पहिलो सिजनमा मिडिया पाट्नरको रूपमा एनपिएलमा भित्र्याएका थिए।

मिलरले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट पोस्ट गरेको भिडियोमा भनेका छन्— “म र वुल्फ ७७७ परिवारको तर्फबाट सबैलाई दीपावलीको हार्दिक शुभकामना! यो पर्वले सबैमा खुसी र समृद्धि ल्याओस्।”

भिडियोमा उनले ‘वुल्फ ७७७ एक्सचेन्ज’ लाई ट्याग समेत गरेका छन्। उनका हालैका पोस्टहरू हेर्दा उनले निरन्तर रूपमा यो बेटिङ कम्पनीको प्रचार सामग्री इन्स्टाग्राममा साझा गरिरहेको प्रस्ट देखिन्छ।

नेपाली टोलीको प्रतिनिधित्व गर्न लागेका विश्वस्तरीय खेलाडी नै नेपालको कानुनले पूर्णतः प्रतिबन्ध लगाएको बेटिङ साइटको प्रवर्द्धक बनेर देखा परेपछि गम्भीर नैतिक र कानुनी प्रश्न खडा भएको छ।

‘वुल्फ ७७७’ र उकेराले निरन्तर उजागर गरेको बेटिङ जालो

‘वुल्फ ७७७’ नेपालका लागि नौलो नाम होइन। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणदेखि नै यो बेटिङ कम्पनी विवादमा मुछिएको थियो। त्यसबेला पनि क्यानका सचिव पारस खड्का एनपीएल गभर्निङ काउन्सिलका संयोजक थिए। उनकै प्रत्यक्ष संलग्नतामा ‘वुल्फ ७७७ न्युज’ को नाममा छद्म विज्ञापन (सरोगेट एडभर्टाइजिङ) गर्दै खेलमैदानबाट बेटिङको प्रचार गराइएको थियो।

सोही बेटिङ प्लेटफर्मले अहिले फेरि एनपीएल चलिरहेका बेला विश्व चर्चित खेलाडी डेभिड मिलरलाई प्रयोग गरेर दक्षिण एसियाली बजारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत प्रचार थालेको हो।

दक्षिण एसियाली चाडपर्वमा जुवाको ‘ह्याप्पी दिवाली’

नेपाल र भारत दुवै देशमा अनलाइन बेटिङ, क्यासिनो र सट्टेबाजीलाई कानुनी रूपमा गैरकानुनी र दण्डनीय अपराध मानिन्छ। चाडपर्वको समयमा आर्थिक कारोबार र मनोरञ्जन बढ्ने मनोविज्ञानलाई क्यास गर्न अन्तर्राष्ट्रिय बेटिङ सिन्डिकेटले दक्षिण अफ्रिकी खेलाडीलाई भारतीय/नेपाली सांस्कृतिक पोसाक पहिर्याएर प्रचारमा उतारेको हो।

नेपाल र भारतमा प्रतिबन्धित रहेका यस्ता बेटिङ साइटहरूले युरोप, क्यारेबियन वा अफ्रिकी मुलुकका खेलाडीहरूलाई महँगो पारिश्रमिक दिएर ‘ब्रान्ड एम्बेसडर’ बनाउने र उनीहरूमार्फत दक्षिण एसियाली युवाहरूलाई जुवाको लतमा फसाउने रणनीति अपनाउँदै आएका छन्।

के भन्छ नेपालको कानुन?

नेपालको कानुनले कुनै पनि प्रकारको जुवा खेल्न, खेलाउन र त्यसको प्रचारप्रसार गर्न पूर्ण बन्देज लगाएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न/गराउन पाइँदैन। पहिलो पटक जुवा खेल्ने/खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ कानुनबमोजिम निषेध गरिएको कुनै पनि वस्तु वा सेवा (जुवा/सट्टेबाजी) को प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विज्ञापन गर्न पाइँदैन। यस्तो विज्ञापन गर्ने वा गराउनेलाई कडा कानुनी कारबाहीको व्यवस्था छ।

नेपाल प्रहरीको साइबर ब्युरो र सीआईबीले यसअघि १-एक्सबेट  जस्ता अनलाइन बेटिङ प्लेटफर्मको प्रचार गरेको आरोपमा नेपालका चर्चित युट्युबर तथा हास्य कलाकारहरूलाई पक्राउ गरी मुद्दा चलाइसकेको नजिर छ।

यस्तो पृष्ठभूमिमा नेपालकै फ्रेन्चाइज लिग खेल्न सम्झौता गरेका विदेशी खेलाडीले नेपाली तथा दक्षिण एसियाली दर्शकलाई लक्षित गरी बेटिङको विज्ञापन गर्नु नेपालको विद्यमान कानुनको ठाडो उपहास हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र दक्षिण अफ्रिकाको कानुन

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एन्टी करप्सन कोड (भ्रष्टाचार विरोधी आचारसंहिता) ले कुनै पनि खेलाडीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेटिङ वा जुवाजन्य गतिविधिलाई बढावा दिन, सहजीकरण गर्न वा प्रोत्साहन गर्न कडा रूपमा निषेध गरेको छ।

आइसिसी नियम अनुसार कुनै पनि क्रिकेटरले खेलमा प्रभाव पार्ने गरी वा अनधिकृत रूपमा सट्टेबाजी कम्पनीसँग प्रत्यक्ष लाभ लिने व्यावसायिक सम्झौता गर्न पाउँदैनन्।

दक्षिण अफ्रिकामा ‘नेसनल ग्याम्बलिंग ऐन’ अन्तर्गत घरेलु रूपमा इजाजतपत्र प्राप्त बेटिङ कम्पनीहरू सञ्चालन हुन पाउँछन्। तर, क्रिकेट साउथ अफ्रिकाको खेलाडी आचारसंहिता अनुसार राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडीले खेलको अखण्डतामा आँच पुग्ने, प्रतिबन्धित क्षेत्रमा सञ्चालन हुने वा अन्तर्राष्ट्रिय क्रिकेटलाई प्रत्यक्ष सट्टेबाजीमा जोड्ने गैरकानुनी प्लेटफर्मको प्रचार गर्न पाउँदैनन्।

कात्तिक २३, २०८३ सोमबार १३:४८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।