१२० रन रक्षा गर्दै सुदूरपश्चिमको जित, जनकपुर २७ रनले स्तब्ध
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न लो-स्कोरिङ थ्रिलर खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि २७ रनको रोमाञ्चक जित निकालेको छ।
जितका लागि पाएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको साविक विजेता जनकपुर १९.५ ओभरमा मात्र ९३ रनमा अलआउट हुन पुग्यो।
सुदूरपश्चिमको कसिलो बलिङसामु जनकपुरका कुनै पनि ब्याटर क्रिजमा लामो समय टिक्न सकेनन्। जनकपुरका लागि त्रित राज दासले सर्वाधिक २१ रन (२९ बल) र जेम्स निसमले २० रन (२५ बल) बनाए।
अन्त्यतिर राहुल यादवले ६ बलमा ११ रन जोडे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। अन्य प्रमुख ब्याटरहरू अनिल साह (२), ह्यारी टेक्टर (१), रायन बर्ल (८) र कप्तान हरमित सिंह (४) सस्तैमा पेभेलियन फर्किए।
जनकपुरको इनिङ्स ध्वस्त पार्न सुदूरपश्चिमका तीव्र गतिका बलर स्कट कुगेलेइनले घातक बलिङ गरे। उनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट हात पारे।
त्यस्तै थरिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, इशान पाण्डे र अनिल खरेलले १-१ विकेट लिए भने जनकपुरका दुई ब्याटर रनआउटको शिकार बने।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रनको मध्यम योगफल तयार पारेको थियो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले २३ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनको योगदान दिए।
त्यस्तै आठौँ नम्बरमा आएका थरिन्दु रत्नायकेले २८ बलमा अविजित २७ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएका थिए। ओपनर सैफ जेब र विनोद भण्डारीले समान १०-१० रन बनाए भने आरिफ शेखले ११ रन जोडे।
जनकपुरका कप्तान हरमित सिंहले ४ ओभरमा मात्र १७ रन खर्चेर ४ विकेट लिँदै विपक्षी टिमलाई दबाबमा राखेका थिए। त्यस्तै ह्यारी टेक्टर, राहुल यादव, आदित्य महतो र अभिषेक तिवारीले १-१ विकेट चट्काएका थिए।
सानो लक्ष्य पाएर पनि ब्याटिङ चल्न नसक्दा जनकपुरले हार बेहोर्नुपर्यो भने उत्कृष्ट बलिङ र चुस्त फिल्डिङको मद्दतले सुदूरपश्चिमले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
कात्तिक २४, २०८३ मंगलबार २०:४३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।