ब्रिटेन्स गट ट्यालेन्टका निर्णायक डेभिडमाथि कम उमेरका किशोरीमाथि यौन शोषणको गम्भीर आरोप

ब्रिटेन्स गट ट्यालेन्टका निर्णायक डेभिडमाथि कम उमेरका किशोरीमाथि यौन शोषणको गम्भीर आरोप

एजेन्सी : ब्रिटिस हास्यकलाकार, लेखक तथा टेलिभिजन प्रस्तोता डेभिड वालियाम्सले १५ वर्षका किशोरीहरूसहित धेरै महिलाहरूमाथि यौन शोषण र 'ग्रुमिङ' (बालबालिकालाई यौन शोषणका लागि ललाइफकाइ गर्ने कार्य) गरेको गम्भीर खुलासा भएको छ।

आइटीभी न्युज  र द गार्डियनले तीन वर्षसम्म गरेको संयुक्त खोजमूलक अनुसन्धानपछि ५५ वर्षीय वालियाम्सका यी कर्तुतहरू बाहिर आएका हुन्। वालियाम्सले आफ्नो नाम मिडियामा आउन नदिन अदालतमा निषेधाज्ञाको रिट हालेका थिए। तर, उच्च अदालतले उनको रिट खारिज गरिदिएपछि र पुनरावेदनको समयसीमा सकिएपछि उनको नाम सार्वजनिक भएको हो।

पीडित किशोरीहरूको दर्दनाक बयान

मिडियाको अनुसन्धानका क्रममा १०० भन्दा बढी मानिसहरूसँग कुराकानी गरिएको थियो, जसमा पीडित महिलाहरूको प्रत्यक्ष बयान समावेश छ।

सन् २००७ मा १५ वर्षकी जेडले माइस्पेसमा वालियाम्सको फोटोमा कमेन्ट गरेकी थिइन्। त्यसपछि वालियाम्स (त्यतिबेला ३६ वर्षका) ले उनलाई सन्देश पठाएर कुराकानीकोक्रम बढाए।

सोहोस्थित एक क्याफेमा भेट भएपछि वालियाम्सले उनलाई यौन इतिहासबारे सोधेका थिए। जेडले भनिन्, "मैले पहिले कहिल्यै यौन सम्बन्ध राखेको छैन भनेर स्पष्ट भनेकी थिएँ।"

क्याफेबाट निस्किएपछि एउटा गल्लीमा पुगेर वालियाम्सले उनलाई जबरजस्ती ओठमा चुम्बन गरे। त्यसपछि वालियाम्सले उनलाई आफ्नो घर लगे।

जेडका अनुसार, "म एकदमै अबोध थिएँ र उसको घर गएँ। त्यहाँ पुगेपछि उसले मेरो कपडाभित्र हात हाल्ने र छातीमा दुर्व्यवहार गर्ने प्रयास गर्यो। म १५ वर्षकी बच्चा थिएँ, म त्यसरी छोइएन चाहन्थेँ।" जेडले यो घटनाको मानसिक असर आफूमा १९ वर्षसम्म रहिरहेको बताएकी छन्।

अर्की पीडित एलेक्सलाई वालियाम्सले १५ वर्षको उमेरमा भेटेर अति नै आकर्षक युवती भन्दै तारिफ गरेका थिए। वालियाम्सले उनको हास्य लेखनमा सहयोग गर्ने र उनका कार्यक्रम 'लिटिल ब्रिटेन' को ब्याकस्टेज पास मिलाइदिने बहानामा वर्षौँसम्म 'ग्रुमिङ' गरेका थिए। एलेक्स १७ वर्ष पुगेपछि वालियाम्सले उनीसँग यौन सम्बन्ध राखेका थिए।

यसका साथै, चर्चित रियालिटी शो 'ब्रिटेन्स गट ट्यालेन्ट'मा निर्णायक रहँदा पनि वालियाम्सले सहकर्मी तथा प्रतिस्पर्धी महिलाहरूमाथि अनुपयुक्त व्यवहार र यौन उत्पीडन गरेको आरोप लागेको छ।

अदालतको बहस र वालियाम्सको बचाउ

वालियाम्सले यी समाचारहरू बाहिर आएमा आफूले आत्महत्या गर्न सक्ने भन्दै नाम गोप्य राख्न उच्च अदालतसमक्ष गुहार मागेका थिए। उनका वकिलले वालियाम्सले यसअघि पनि दुई पटक आत्महत्याको प्रयास गरिसकेको र अस्पताल भर्ना हुनुपरेको तर्क पेस गरेका थिए।

तर, सञ्चारमाध्यमका वकिलहरूले समाजका शक्तिशाली व्यक्तिहरूले आफ्नो पहुँचको दुरुपयोग गरी महिला तथा किशोरीहरूमाथि गर्ने शोषण सार्वजनिक हुनु राष्ट्रिय र सार्वजनिक हितको विषय भएको तर्क राखेका थिए। न्यायाधीशले मिडियाको पक्षमा फैसला गर्दै वालियाम्सको निवेदन अस्वीकार गरिदिए।

आरोपहरूबारे प्रतिक्रिया दिँदै वालियाम्सले भने "अतीतमा मैले आकस्मिक यौन सम्बन्धमा रहेका मानिसहरूप्रति केही सोचविचार नगरी व्यवहार गरेँ होला, जसका लागि म पछुतो मान्छु। तर, म यौन सिकारी होइन र मैले कुनै कानून तोडेको छैन। शक्ति र पहुँचको दुरुपयोग मैले कहिल्यै गरिनँ।"

यी खुलासाहरूपछि बाल-पुस्तक लेखकका रूपमा समेत प्रसिद्ध वालियाम्सका सबै पुस्तकहरूको बिक्री र सम्झौता प्रकाशन गृह हार्परकलिन्सले रद्द गरिसकेको छ।

कात्तिक २४, २०८३ मंगलबार १८:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।