वसन्तपुरमा गणेश र भैरवको निवास निर्माण गर्दै काठमाडौं महानगर
काठमाडौं : काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वसन्तपुरमा श्री गणेश र श्री भैरवको निवास निर्माण गर्न लागेको घोषणा गरेकी छन्।
मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले वसन्तपुरमै रहेको जग्गामा गणेश र भैरवको निवास निर्माण गरिने जानकारी दिइन्। उनका अनुसार आगामी मंसिर ५ गते बिहान ६ बजे पूजाआजासहित उक्त भवनको शिलान्यास गरिनेछ।
उनले भनिन्, "आज म यहाँहरूको माझ घोषणा गर्न चाहन्छु, काठमाडौं महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास बनाउँदै छ। यहाँहरूले देख्न सक्नुहुन्छ, त्यहाँ टेन्ट लागेको छ, त्यससँगै रहेको जग्गामा निवास निर्माण हुँदै छ। त्यसको ड्रइङ पनि हेर्न सक्नुहुन्छ। आगामी ५ गते बिहान ६ बजे पूजाआजासहित शिलान्यास गर्नेछौँ। आज यहाँहरू सबैलाई सामूहिक रूपमा निमन्त्रणा पनि दिन चाहन्छु।"
डंगोलले नेपाल संवत् आन्दोलनले सांस्कृतिक जागरणसँगै राजनीतिक परिवर्तनका लागि पनि महत्वपूर्ण भूमिका खेलेको बताइन्। ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने र सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले अभियान सुरु भएको उनको भनाइ थियो।
उनले भनिन्, "आज हामीले र्यालीमा सबैभन्दा बढी नयाँ पुस्तालाई बाजागाजा र आफ्नो मौलिक पोशाकमा देखिरहेका छौँ। ४७ वर्षअघि नेपाल संवत्लाई राष्ट्रियकरण गर्नुपर्छ, राष्ट्रिय स्तरमा यसको मूल्य र मान्यता हुनुपर्छ भन्ने उद्देश्यका साथ यसलाई पुनर्जीवित बनाउन अभियान सुरु भएको थियो।"
उनले नेपाल संवत् आन्दोलन सुरु गर्ने स्वर्गीय पद्मरत्न तुलाधर र यसै वर्ष निधन भएका स्वर्गीय दुर्गालाल श्रेष्ठलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन्। साथै अभियानलाई निरन्तरता दिन सहयोग गर्ने अग्रजहरूप्रति आभार व्यक्त गरिन्।
डंगोलले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई सामाजिक उत्तरदायित्व र परोपकारको उदाहरणका रूपमा लिनुपर्ने बताइन्।
उनले भनिन्, "शंखधर साख्वा नेपाल संवत्का संस्थापक मात्र होइन, समाजप्रतिको उत्तरदायित्व र परोपकारको प्रतीक पनि हुनुहुन्छ। व्यक्तिको महानता जीवनमा कति कमायौँ भन्ने कुराले होइन, समाजलाई कति दिन सक्यौँ र सकारात्मक परिवर्तनका लागि के योगदान गर्न सक्यौँ भन्ने कुराले मापन हुनुपर्छ।"
उनले लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्ने बताउँदै स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक सुरक्षाका क्षेत्रमा नागरिकमैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।
कात्तिक २४, २०८३ मंगलबार १५:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।