मुगुमा भैलो खेलिरहेको टोली बोकेको जिप दुर्घटना : पाँच घाइते, एकको अवस्था गम्भीर

मुगुमा भैलो खेलिरहेको टोली बोकेको जिप दुर्घटना : पाँच घाइते, एकको अवस्था गम्भीर

मुगु : मुगुको सोरु गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोरु गाउँपालिका–६ गजेडी स्थित झ्यालेखोलामा बुधबार दिउँसो जिप दुर्घटना भएको हो। 

प्रहरीका अनुसार सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको बोलेरो जिप अचानक ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनामा जिपमा सवार १२ जना मध्ये पाँचजना घाइते भएका छन्।

घाइते हुनेहरूमा जिप चालक खत्याड गाउँपालिका–७ का २९ वर्षीय उपेन्द्र परियार, सोरु गाउँपालिका–९ कालै निवासी १९ वर्षीय गणेश ऐडी, सोही ठाउँकी १६ वर्षीया निर्मला ऐडी र १७ वर्षीया करिस्मा ऐडी रहेका छन्। यसैगरी, १९ वर्षीय अन्तिम योगी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रविराज थपलियाले जानकारी दिए। 

घाइतेमध्ये गणेश ऐडीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी चौकी सोरुबर्माबाट प्रहरी नायब निरीक्षक देवबहादुर खड्काको कमान्डमा खटिएको ६ जनाको प्रहरी टोली दिउँसो घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइते पाँचै जनालाई उपचारका लागि सिप स्थित जिमा स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटना पछि सडक अवरुद्ध नभएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

कात्तिक २४, २०८३ मंगलबार १५:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।