चितवनलाई १० रनले हराएर शीर्ष स्थानमा उक्लियो काठमाडौं

चितवनलाई १० रनले हराएर शीर्ष स्थानमा उक्लियो काठमाडौं

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले स्तब्ध बनाएको छ।

अन्तिम ओभरसम्मै तानिएको खेलमा जित निकाल्दै काठमाडौं लुम्बिनी लायन्सलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

जितका लागि १८१ रनको विशाल लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो।

चितवनका लागि अनुभवी अलराउन्डर रवि बोपाराले ३५ बलमा ५५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जितको रेखा पार गराउन सकेनन्।

बोपाराको संघर्ष, काठमाडौंको कसिलो डेथ बलिङ
लक्ष्य पछ्याउने क्रममा चितवनले आक्रामक सुरुआत गरेको थियो। ओपनर कामिल मिशाराले मात्र ११ बलमा ३ छक्का र १ चौकासहित २८ रन तथा अर्जुन साउदले २३ रन बनाए।

५२ रन जोड्दा दुवै ओपनर गुमाइसकेको चितवनको इनिङ्सलाई रवि बोपारा र ड्यान मौस्ले (२९ रन) ले उकासेका थिए।

तर, १३औँ ओभरमा मौस्ले र १४औं ओभरमा डेब्युटान्ट स्पिनर गणेश गौतमले चितवनका कप्तान सिकन्दर राजा (२ रन) लाई बोल्ड गरेपछि खेल काठमाडौंतर्फ ढल्कियो।

कुशल मल्ल (१३ रन) र विवेक यादव (४ रन) १९औं ओभरमा आउट भए। अन्तिम ओभरमा जितका लागि १७ रन चाहिँदा करण केसीले पहिलो बलमै बोपारालाई आउट गर्दै काठमाडौंको जित सुनिश्चित गरे।

काठमाडौंका लागि सहान अराचिगेले २ विकेट लिए भने गणेश गौतम, सन्तोष यादव, जहादाद खान र करण केसीले १-१ विकेट हात पारे।

राशिद खानको आक्रामक अर्धशतक
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोडेको थियो।

सुरुवातमै डेभिड वार्नर (१ रन) र साहिल पटेल (८ रन) सस्तैमा आउट भएपछि दबाबमा परेको काठमाडौँको इनिङ्स राशिद खान र विलियम बोसिस्टोले सम्हालेका थिए।

राशिद खानले विष्फोटक ब्याटिङ गर्दै मात्र २८ बलमा अर्धशतक पूरा गरे। उनले कुल ३० बलमा ४ छक्का र २ चौकाको मद्दतले ५२ रन बनाए।

यस्तै, सहान अराचिगेले २० बलमा ३३ रन जोडे भने अन्त्यतिर कप्तान करण केसीले मात्र ७ बलमा ३ छक्कासहित विष्फोटक २० रन जोडेपछि काठमाडौं बलियो योगफलसम्म पुगेको थियो।

चितवनका रिजोन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिएका थिए भने कमलसिंह ऐरी र सिकन्दर राजाले २-२ विकेट लिए।

अंक तालिकाको शीर्ष स्थानमा काठमाडौं
यो सानदार जितसँगै काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई उछिन्दै अंक तालिकाको पहिलो स्थान कब्जा गरेको छ।

६ खेलबाट ५ जितसहित १० अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ भने पराजित चितवन ५ अंकसहित चौथो स्थानमै यथावत छ।

कात्तिक २३, २०८३ सोमबार २१:०१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।