हारको दोष नेपाली खेलाडीलाई नदिऊँ, हामी विदेशी ब्याटर नै चुक्यौँ : रवि बोपारा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार काठमाडौं गोर्खाजविरुद्धको खेलमा १० रनले पराजित भएपछि चितवन राइनोजका अलराउन्डर रवि बोपाराले जित नजिक पुगेर पनि खेल गुमाउनु निकै कठिन र निराशाजनक रहेको बताएका छन्।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ब्याटिङ र बलिङ दुवैतर्फ मध्य ओभरहरूमा लय गुमाउनु नै हारको मुख्य कारण भएको औंल्याए।
काठमाडौंले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रममा १० ओभरसम्म टोली निकै बलियो स्थितिमा रहेको स्मरण गर्दै बोपाराले भने, ‘हामीले प्रतियोगिताकै उत्कृष्ट पिचमा खेलिरहेका थियौँ। १० ओभर सकिँदा हामी खेल जित्ने स्थितिमै थियौँ। तर त्यसपछि लगातार विकेट गुम्दा सम्हालिन सकेनौँ, जसले गर्दा हातमा आइसकेको खेल गुम्न पुग्यो।’
उनले सुरुवाती ४ ओभरमा काठमाडौंलाई दबाबमा राखे पनि पाँचौं ओभरपछि सोचेअनुरूप बलिङ हुन नसक्दा विपक्षीले ठूलो स्कोर खडा गर्न सकेको स्वीकार गरे।
स्थानीय खेलाडीको होइन, जिम्मेवारी विदेशी ब्याटरहरूकै थियो
हारको कारणबारे पत्रकारको प्रश्नमा बोपाराले नेपाली ब्याटरहरूलाई दोष दिन नमिल्ने बताए।
उनले भने, ‘विगत दुई-तीन वर्षमा नेपाली खेलाडीको पावर-हिटिङ निकै सुधारिएको छ। आजको हार स्थानीय खेलाडीका कारण भएको होइन। हामीसँग शीर्ष क्रममा तीन जना विदेशी ब्याटर थियौँ, १८१ रनको लक्ष्य पछ्याउँदा खेल जिताउने मुख्य जिम्मेवारी हाम्रै थियो।’
चितवनका तीव्र गतिका बलर रिजन ढकाल र कमलसिंह ऐरीको प्रदर्शनबाट आफू निकै प्रभावित भएको बोपाराले बताए।
‘रिजोन र कमल यस प्रतियोगिताकै उत्कृष्ट सिमर हुन्। रिजोनले नयाँ बल, मध्यक्रम र डेथ ओभरमा समेत उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कमलले पनि महत्वपूर्ण समयमा विकेट निकालेका छन्,’ उनले भने, ‘यी दुई युवा खेलाडीको प्रदर्शन चितवन र समग्र नेपाली क्रिकेटका लागि निकै सकारात्मक पक्ष हो।’
अंक तालिकाको समीकरणबारे बोल्दै बोपाराले अबको खेल नकआउटजस्तै हुने बताए।
‘हाम्रो अर्को खेल जनकपुर बोल्ट्ससँग छ, जो तालिकामा हामीभन्दा ठीक तल छन्। प्लेअफको सम्भावना मजबुत बनाउन र ७ अंकमा पुग्न हामीले त्यो खेल जसरी पनि जित्नुपर्नेछ’, उनले स्पष्ट पारे।
काठमाडौंको मौसमको प्रशंसा गर्दै बोपाराले दिनमा पारिलो घाम र साँझपख चिसो हुने भएकाले आफूलाई इंग्ल्याण्डमै खेलिरहेको अनुभूति हुने बताए। उनले जारी प्रतियोगितामा अन्य पिचहरू केही सुस्त र कठिन भए पनि आजको पिच ब्याटिङका लागि निकै उत्कृष्ट रहेको बताए।
कात्तिक २३, २०८३ सोमबार २२:०६:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।