डेभिड वार्नर मैदानभित्रको कम्प्युटर : शरद भेषावकर
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई पराजित गर्दै लगातार चौथो जितसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएपछि काठमाडौं गोर्खाजका क्रिकेट निर्देशक शरद भेषावकरले टोलीको सन्तुलन, खेलाडीहरूको प्रदर्शन र स्टार ब्याटर डेभिड वार्नरको प्रभावबारे खुलेर प्रशंसा गरेका छन्।
पहिलो खेलमा पराजय बेहोरे पनि त्यसपछि लगातार चार खेल जित्दै उत्कृष्ट पुनरागमन गरेको काठमाडौँको प्रदर्शनबाट आफू निकै उत्साहित रहेको उनले बताए।
चितवनविरुद्धको खेलमा केही महत्त्वपूर्ण क्याचहरू छुटेको प्रसंगमा शरदले रमाइलो शैलीमा प्रतिक्रिया दिए।
‘खेलमा केही कमजोरी भए पनि कुनै न कुनै खेलाडीले त्यसलाई कभर गरिरहेका छन्। धेरै क्याच ड्रप हुँदा पनि हामीले जित निकाल्यौँ,’ उनले भने, ‘क्याच समातेर हार्नुभन्दा क्याच छुटेर पनि जित्नुलाई म सकारात्मक रूपमै लिन्छु।’
घाइते शहाब आलमको स्थानमा मैदान उत्रिएका युवा स्पिनर गणेश गौतमले चितवनका कप्तान सिकन्दर राजाको ठूलो विकेट लिँदै प्रभाव जमाएका थिए।
उनको प्रशंसा गर्दै शरदले भने, ‘गणेश त्यत्तिकै सजिलै टोलीमा आएका होइनन्। हामीले विभिन्न एकेडेमीमा पुगेर करिब ५०० खेलाडीहरूको ट्यालेन्ट हन्टबाट उनलाई छनोट गरेका थियौँ।’
कुनै पनि नयाँ खेलाडी पहिलो खेलमा ‘सरप्राइज प्याकेज’ का रूपमा आउन सजिलो भए पनि विश्लेषकहरूले अध्ययन गर्न थालेपछि निरन्तर लय कायम राख्नु नै मुख्य चुनौती हुने उनको सुझाव थियो।
अस्ट्रेलियाका पूर्वओपनर डेभिड वार्नर टोलीमा सामेल भएयता काठमाडौंले खेलेका चारवटै खेल जितेको छ। वार्नरको प्रभावबारे बोल्दै शरदले उनको दिमाग ‘कम्प्युटर’ जस्तै तीव्र गतिमा चल्ने बताए।
‘वार्नरजस्तो विश्वस्तरीय खेलाडीसँग ड्रेसिङ रुम साझा गर्न पाउनु हाम्रो लागि ठूलो अवसर हो। उनी मैदानमा हुँदा कुन परिस्थितिमा के गर्नुपर्छ, कुन कोणमा फिल्डर राख्ने वा कहिले बलर परिवर्तन गर्ने भन्ने कुरा तुरुन्तै बताइहाल्छन्,’ शरदले थपे, ‘उनी आएपछि हामीले लगातार चार खेल जित्यौँ। क्रिकेट १ प्रतिशतको खेल हो, जहाँ उनका साना-साना सुझावहरूले खेल पल्टाउन मद्दत गरेका छन्।’
चार खेलको सम्झौता सकिएर वार्नर फर्किने सम्भावनाबारे सोधिएको प्रश्नमा शरदले हाँस्दै भने, ‘सुरुमा चार खेल खेल्ने सहमति थियो। तर लगातारको जितले खुसी भएर आज राति नै उहाँको मन परिवर्तन पो हुन्छ कि! यदि अहिले गए पनि प्लेअफमा पुनः फर्किने सम्भावनालाई नर्कान सकिन्न।’
कात्तिक २३, २०८३ सोमबार २१:५२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।