भेँडाबाख्राका रक्षक, गोठालाका सारथी
म्याग्दी : घना जङ्गल, अग्ला पहाड र विकट भूगोल। महिनाौँसम्म हिमाली लेक–खर्कमा घुम्ती गोठ राखेर हजारौँ भेँडाबाख्रा पाल्दै आएका म्याग्दीका किसानहरूका लागि 'भोटे कुकुर' केवल एउटा घरपालुवा जनावर मात्र होइनन्, भरपर्दा सुरक्षाकर्मी र हरेक समय खट्ने बफादार सारथी हुन्।
२० वर्ष युएईमा रोजगारी गरेर गाउँ फर्किएका धवलागिरि गाउँपालिका–५ मल्कवाङका ५० वर्षीय हिमबहादुर छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ५ वटा भोटे कुकुर पालेका छन्।
"घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा सयौँ पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन्," छन्त्यालले भने।
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन्। शहरबजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक कृषक आस्मान पुर्जाले बताए।
उनका अनुसार म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका गोठालाहरूले ३० किलोग्रामभन्दा बढी तौल र अग्लो शरीर भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन्।
“देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको सङ्केत गर्ने क्षमता राख्छन्। यस्ता कुकुरका छाउरा प्रतिगोटा १० हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छन्”, उनले भने।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजा, जसले सात दशकदेखि भेँडापालन गर्दै आएका छन्, उनको अनुभवमा पनि कुकुरबिना गोठालो जीवन निकै कठिन हुन्छ। “जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएका छन्”, उनले भने, “कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्छ।”
जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन्। साँझ, राति र बिहान गोठ वरपर रुँगेर बस्ने कुकुरले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन्। आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत सहयोग पुग्ने गरेको छ।
पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेँडाबाख्रा फर्काउन र हराएका पशु खोज्न पनि कुकुरले सघाउँछन्। “कुकुरले पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन र बथानलाई एकै ठाउँमा राख्न सहयोग गर्छन्”, उनले भने।
मनिराम पाइजाले पनि कुकुरबिनाको गोठालो जीवन कल्पना गर्न नसकिने बताए । “पशु चराउन लैजाँदा कुकुर बथानको पछिपछि लाग्छन्। अप्ठ्यारो भीरमा जान नदिने, साँझ परेपछि पशुलाई खेदेर गोठमा फर्काउने र जङ्गली जनावर देखेपछि भुकेर सूचना दिने उनीहरूको विशेषता हो। चितुवा, ब्वाँसो र स्यालजस्ता जनावर देखेपछि कुकुरले भुकेर खबर गर्छन् र आक्रमण गर्न आएमा प्रतिकार गरेर भगाउँछन्”, उनले भने।
गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेँडाको दूध र मासु खुवाउने गरिन्छ। पशु चरनका लागि एक ठाउँमा १० देखि १५ दिनसम्म गोठ राख्ने र त्यसपछि अर्को खर्कमा सार्ने परम्परा छ। गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही जीवनशैलीमा अभ्यस्त भएका हुन्छन्।
बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुगेका पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन्। हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने स्थानलाई खर्क भनिन्छ। लेकमा पोषिलो घाँस खाएर मोटाएका पशु लिएर गोठाला बन्दोबस्तीका सामानसहित क्रमशः तल झर्ने गर्छन्। बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा म्याग्दीमा कायमै छ।
धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमा पशुपालन गर्दै आएका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यही पेसामा आबद्ध छन्।
आधुनिक जीवनशैली र रोजगारीका अवसरले परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा परिरहेका बेला भोटे कुकुर भने अझै गोठालाका अभिन्न सारथि बनेका छन्। निर्जन जङ्गल र उकाली–ओरालीको कठिन यात्रामा गोठालालाई साथ दिने यी बफादार जनावरले पुस्तौँदेखि पशुपालन संस्कृतिको संरक्षण र निरन्तरता दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
सन्तोष गौतम/रासस
कात्तिक २२, २०८३ आइतबार १६:१७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।