काठमाडौँबाट राइफलको गोलीसहित एक जना पक्राउ

काठमाडौँबाट राइफलको गोलीसहित एक जना पक्राउ

काठमाडौं : काठमाडौं प्रहरीले राइफलको गोलीसहित एक जनालाई र जुवा खेलिरहेका अन्य नौ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१४ कलङ्की चोकबाट तनहुँ व्यास नगरपालिका–११ दमौली घर भएका ४२ वर्षीय सुरेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

शङ्कास्पद अवस्थामा हिँडिरहेका उनको खानतलासी गर्दा ‘थ्री नट थ्री’ राइफलमा प्रयोग हुने एक राउण्ड गोली फेला परेको थियो।

उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाउन अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यसैगरी, प्रहरीले बालुवाटारस्थित एक रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट ६ लाख ८५ हजार रुपैयाँ नगद, नौ बुक तास र १० थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

कात्तिक २२, २०८३ आइतबार १९:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।