चितवनलाई काठमाडौंको १ सय ८१ रनको लक्ष्य, राशिद खानको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी २०औं खेल मा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई जितका लागि १८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोड्यो।
१८१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको चितवनले ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८१ रन बनाएको छ। चितवनलाई अब जितका लागि ६६ बलमा १०० रनको आवश्यकता छ।
काठमाडौंको सुरुआत भने निकै निराशाजनक रह्यो। विश्वप्रसिद्ध अस्ट्रेलियाली ब्याटर डेभिड वार्नर व्यक्तिगत १ रनमै कमलसिंह ऐरीको बलमा बोल्ड भए।
लगत्तै ओपनर साहिल पटेल (८ रन) पनि रिजोन ढकालको सिकार बनेपछि काठमाडौंले ३.५ ओभरमै १३ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।
त्यसपछि विलियम बोसिस्टो र राशिद खानले इनिङ्स सम्हाले। बोसिस्टोले २२ बलमा २७ रन जोडेर आउट भए पनि राशिद खानले आक्रामक ब्याटिङ गर्दै मात्र २८ बलमा अर्धशतक पूरा गरे।
राशिदले कुल ३० बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए।
मध्यक्रममा सहान अराचिगेले २० बलमा ३३ रन (३ चौका, २ छक्का) तथा कप्तान करण केसीले मात्र ७ बलमा ३ छक्का प्रहार गर्दै विष्फोटक २० रन जोडेपछि काठमाडौँले १८० रनको उच्च योगफल खडा गर्न सफल भयो।
चितवनका बलर रिजोन ढकालले उत्कृष्ट र कसिलो बलिङ गरे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
यस्तै, कमलसिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट तथा कप्तान सिकन्दर राजाले ३ ओभरमा १९ रन दिएर २ विकेट हात पारे। ड्यान मौस्लेले १ विकेट लिए।
१८१ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले पावरप्लेमा आक्रामक सुरुआत गर्यो।
ओपनर कामिल मिशाराले मात्र ११ बलमा ३ छक्का र १ चौकासहित विष्फोटक २८ रन बनाए भने अर्जुन साउदले २१ बलमा ४ चौका प्रहार गर्दै २३ रन जोडे। दुवै ओपनर ५२ रनको कुल स्कोरमा पभेलियन फर्किए।
हाल क्रिजमा रवि बोपारा (१३ रन) र ड्यान मौस्ले (१५ रन) खेलिरहेका छन्। हाल चितवनको रनरेट ९.०० रहेको छ भने आवश्यक रनरेट ९.०९ रहेकोले खेल रोमाञ्चक मोडमा पुगेको छ।
कात्तिक २३, २०८३ सोमबार १९:५१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।