पावरप्लेमै खेल बिग्रियो, बाँकी दुई खेल जितेर प्लेअफ पुग्छौँ : पवन सर्राफ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलपछि कर्णाली याक्सका अलराउन्डर पवन सर्राफले पावरप्लेमा लगातार विकेट गुमाउनु र फिल्डिङमा भएका कमजोरी नै टोलीको हारको मुख्य कारण रहेको बताएका छन्।
पोखरा एभेन्जर्ससँगको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पिच ब्याटिङका लागि अनुकूल भए पनि पावरप्लेमा योजनाअनुसार खेल्न नसक्दा टोली दबाबमा आएको स्वीकार गरे।
पवनका अनुसार टोलीको मुख्य योजना पावरप्लेको फाइदा उठाउँदै राम्रो स्कोर बनाउने थियो। तर, सुरुवातमै महत्वपूर्ण विकेटहरू गुमाएपछि टोली ब्याकफुटमा धकेलियो।
‘पिच ब्याटिङका लागि राम्रै थियो। हाम्रो सोच पावरप्लेमा रन बटुल्ने थियो तर त्यहीँ महत्वपूर्ण विकेटहरू गुमायौँ,’ उनले भने, ‘सुरुवातमै विकेट गएपछि बीचका ओभरहरूमा रन बनाउन दबाब सिर्जना भयो। पावरप्लेमा गतिलो स्कोर खडा गर्न सकेको भए लक्ष्य सजिलै पछ्याउन सकिन्थ्यो।’
पवनले विपक्षीलाई आवश्यकताभन्दा बढी रन बनाउन दिएको बताए।
आफ्नै बलिङमा समेत दुई महत्वपूर्ण क्याच छुटेको उल्लेख गर्दै उनले भने, ‘हामीले सोचेभन्दा बढी रन खायौँ। मेरो आफ्नै बलिङमा पनि दुईवटा क्याच मिस भयो। यदि ती क्याचहरू समातिएको भए विपक्षीलाई कम स्कोरमै रोक्न सकिन्थ्यो।’
सुरुवातमै शीर्ष क्रमका ब्याटर आउट भएपछि सातौं विकेटका लागि कप्तान सोमपाल कामीसँग भएको साझेदारीबारे बोल्दै उनले खेललाई अन्तिम ओभरसम्म लैजाने रणनीति रहेको बताए।
‘मैदानको एउटा एन्ड छोटो थियो। त्यसैले हरेक ओभर कम्तीमा एउटा बाउन्ड्री प्रहार गर्ने र रनरेटलाई सन्तुलनमा राख्दै खेललाई गहिराइसम्म लैजाने कुरा भएको थियो,’ पवनले थपे, ‘हामी दुवै जना अन्तिमसम्म टिकेमा खेल जित्न सकिन्छ भन्ने विश्वास थियो।’
लगातार तीन हार बेहोरे पनि टोलीको प्लेअफ यात्रा अझै समाप्त भइनसकेको पवनले स्पष्ट पारे। आगामी खेलहरूको चुनौतीबारे बोल्दै उनले भने, ‘प्लेअफ पुग्न त्यति गाह्रो पनि छैन। अब बाँकी रहेका दुवै म्याच जित्यौँ भने शीर्ष चार (प्लेअफ) मा पुग्न सक्छौँ, त्यसैले हामी उत्कृष्ट पुनरागमनका लागि सकारात्मक छौँ।’
कात्तिक २३, २०८३ सोमबार १९:२५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।