पाँचौँ खेलमा पुगेर एनपिएलमा पोखराको पहिलो जित, २१८ रन पछ्याएको कर्णाली १५४ मा अल आउट

पाँचौँ खेलमा पुगेर एनपिएलमा पोखराको पहिलो जित, २१८ रन पछ्याएको कर्णाली १५४ मा अल आउट

काठमाडौं : पोखराले दिएको २ सय १८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णाली याक्स पुरै ओभर पनि खेल्न नपाउँदै १८.३ ओभरमा १ सय ५४ रन बनाएर आउट भयो। कर्णालीलाई हराएसँगै नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा पोखराले पाँचौँ खेलमा पुगेर जित निकालेको छ।

पोखराले तेस्रो सिजनको पहिलो जितसँगै पहिलो शतक, पहिलो सबैभन्दा उच्च स्कोर र विकेटका लागि सबैभन्दा उच्च साझेदारी तीन वटै रेकर्ड बनायो। पोखराका लागि युवराज सम्राले यो सिजनकै सबैभन्दा उच्च स्कोर बनाए। कर्णालीका क्याप्टेन सोमपाल कामीले मैदानमा प्रेसर धान्न नसकी खेल नियम तोड्दा उनी आउट भए।

उनी आउट भएपछि टिम सम्हालिन सकेन। पावरप्लेभित्रै कर्णालीको ४ विकेट लिन सफल भएको पोखराले अन्तमा शानदार जित निकाल्यो। कर्णालीले पुरा २० ओभर पनि नखेली सबै विकेट गुमायो।

पोखराका लागि पहिलो जितले सान्त्वना दिएको छ भने कर्णालीका लागि भने प्रेसर बढाएको छ। कर्णालीले ५ खेलबाट जम्मा ४ अंक पाएको छ। पोखराको भने पहिलो नम्बरको खाता खुलेको छ।

अब कर्णालीले यो सिजनमा निकै बलियो देखिएको र साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिष्पर्धा गर्ने छ। प्लेअफमा पुग्न उसले चितवन राइनोजको सामना गर्नेछ। कर्णालीले ५ खेल खेल्दा दुई खेल जिते पनि तीन खेल लगातार हारेकाले प्लेअफमा जान उसले अबका दुबै खेल जित्नु पर्ने प्रेसर रहेको छ। किनकी चार टिम पुग्ने प्लेअफको दौडमा उ छैटौं स्थानमा छ।

पोखराका लागि प्लेअफमा पुग्ने बाटो लगभग असम्भव देखिन्छ। अबका उसको दुई खेल अंक तालिकामा माथि जानका लागि भने महत्वपूर्ण हुनेछ।

 

कात्तिक २३, २०८३ सोमबार १६:१९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।