पोखराको प्रेसर धान्न नसक्दा दुर्लभ नियमबाट आउट भए कर्णालीका सोमपाल
काठमाडौं : पोखरा एभेन्जर्सले दिएको २१८ रनको विशाल लक्ष्य पुरा हुन कठिनहुँदाको प्रेसर धान्न नसक्दा कर्णाली याक्सका क्याप्टेन सोमपाल कामी आउट भएका छन्। विपिन खत्रीको बलमा पहिलो प्रहार नलागेपछि रिसाउँदै पुन दोस्रो पटक बल हानेपछि उनी क्रिकेटमा निकै कम प्रयोग हुने नियम 'हिट द बल ट्वाइस' अर्थात् एकै बललाई पुन दोहोर्याएर हानेपछि आउट पाए।
पोखराले पहिलो बलिङ गरेर कर्णाली याक्सका लागि २१८ रनको लक्ष्य दिएपछि कर्णालीका खेलाडीहरू प्रेसरमा परे। उनीहरू मैदानमा उत्रिएर रनको रेट बढाउन हरदम प्रयास गरे। रनको स्कोर राम्रो भए पनि पोखराको लक्ष्य छुन भने सहज थिएन। यसले खेलाडीहरूमा प्रेसर बढायो। यही प्रेसरमा सोमपाल मैदानमा सम्हालिन सकेनन्।
पोखराका विपिनले दिएको बललाई बाउन्ड्री कटाउने प्रयास गरे पनि राम्रोसँग ब्याटमा लागेन। अपेक्षाअनुसार बल राम्रोसँग ब्याटमा नलागेर बाउन्स भएर उफ्रिएको थियो। त्यसपछि सोमपाल रिसाउँदै नजिकै रहेको बललाई उनले दोस्रो पटक फेरि ब्याटले हाने। त्यसपछि रेफ्रीले थर्ड अम्पायरको सहायता मागे। त्यसमा उनलाई आउट दिइयो।
क्रिकेटको नियमअनुसार ब्याट्सम्यानले बललाई एक पटक प्रहार गरेपछि, विकेट जोगाउन वा रन लिनका लागि आफ्नो ब्याट वा शरीरले जानाजान दोस्रो पटक बल छुने वा हान्न पाइँदैन यदि रन लिने क्रममा बाहेक ब्याट्सम्यानले जानाजान बललाई दुई पटक प्रहार गरेमा उसलाई 'हिट द बल ट्वाइस' नियमअनुसार आउट दिइन्छ। त्यही अनुसार सोमपाल आउट भए। क्रिकेट इतिहासमा ब्याट्सम्यानहरू यसरी आउट भएका घटनाहरू निकै कम भएकाले यसलाई दुर्लभ मानिन्छ।
कात्तिक २३, २०८३ सोमबार १६:०७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।