सिडियो कार्यालयलाई गृहको निर्देशन- २४सै घण्टा देउसी-भैलो खेल्न दिनू

सिडियो कार्यालयलाई गृहको निर्देशन- २४सै घण्टा देउसी-भैलो खेल्न दिनू

काठमाडौं : सरकारले यस वर्षको तिहार पर्वमा परम्परागत देउसी-भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा देउसी-भैलो खेल्ने वातावरण मिलाउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाद्वारा जारी पत्रमा नेपालीहरूको मौलिक, सांस्कृतिक, धार्मिक एवं परम्परागत चाड तिहारका अवसरमा सामाजिक सद्भाव कायम राख्दै अनुशासित रूपमा देउसी-भैलो सञ्चालन गर्न सहजीकरण गर्न भनिएको छ।

गृह मन्त्रालयको ७ बुँदे निर्देशन:
१. मन्त्रालयको मिति २०८३/०६/२४ गतेको सूचनाको पूर्ण रूपमा पालना गर्नुपर्ने।

२. नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन दिने तथा सामाजिक सद्भाव संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी-भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिनुपर्ने।

३. देउसी-भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित ढङ्गले मात्र सञ्चालन गर्न दिने तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउनुपर्ने।

४. विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग वा समुदायप्रति घृणा एवम् द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत वा नारा प्रयोग गर्न नदिने।

५. चाडपर्व मनाउने क्रममा जुवा-तास नखेल्न/नखेलाउन, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला नगर्न तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी साधन नचलाउन उचित व्यवस्था मिलाउनुपर्ने।

६. अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरणहरूको प्रयोग नगर्न तथा अस्पताल र वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुपर्ने।

७. सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गरी वातावरणीय स्वच्छता कायम राख्दै जथाभावी फोहोरमैला नगर्ने व्यवस्था मिलाउनुपर्ने।

मन्त्रालयले देउसी-भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या परेमा तत्काल प्रहरी नियन्त्रण कक्षको हटलाइन १०० वा आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सर्वसाधारणलाई सूचित गर्नसमेत प्रशासनलाई निर्देशन दिएको छ।

कात्तिक २३, २०८३ सोमबार २०:३०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।