घोप्टेभिरको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
चितवन : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। पहिरोका कारण केही समय ठप्प बनेको यातायात सेवा दिउँसो १:३० बजेदेखि नियमित भएको हो।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार १ः२५ बजेबाट पहिरो व्यवस्थापन गरिएको हो।
मुग्लिन र धादिङ तर्फबाट छ वडा, लोडर, एक्साभेटर, जेसीबी प्रयोग गरी पहिरो व्यवस्थापन गरिएको हो। उक्त स्थानमा आइतबार पनि सुख्खा पहिरो खसेर दिनको समयमा केही बेर सडक अवरुद्ध भएको थियो। गए राति १ बजे पुनः खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको हो।
पहिरो खसेको ठाउँ मुग्लिनबाट तीन किलोमिटर काठमाडौँतर्फ पर्ने उक्त सडक सञ्चालनमा आएसँगै लाइनमा रहेका सवारीहरु गन्तव्यतर्फ लागेका छन्।
कात्तिक २३, २०८३ सोमबार १४:५१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।