रुकुम पश्चिममा जीप ब्याक गर्ने क्रममा दुर्घटना; दुई जनाको मृत्यु, ६ गम्भीरसहित १३ घाइते

रुकुम पश्चिममा जीप ब्याक गर्ने क्रममा दुर्घटना; दुई जनाको मृत्यु, ६ गम्भीरसहित १३ घाइते

काठमाडौं : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 सोमबार दिउँसो १२ पागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परि आठबिसकोट नगरपालिका–५ बस्ने १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी साहु ३५ वर्षीय वीरबहादुर थापा, १९ वर्षीया जुना कुमारी थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा गरी ६ जना गम्भीर घाइते भएका छन्।

यस्तै, २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते भएका छन् भने २३ वर्षीया सुशिला थापा एरी, २८ वर्षीया भावना थापा एरी, २७ वर्षीया खिममाया थापा, २० वर्षीया रमिता एरी र १९ वर्षीया निर्मला एरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ। भने गम्भीर घाइतेसहित अन्यलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ।

घटनास्थलमा प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा ४ जना र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चपागाईँको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिएर उद्धार कार्य जारी राखेको छ।

दुर्घटनापछि जीप चालक आठबिसकोट नगरपालिका–४ का २५ वर्षीय प्रदिप विक भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक २३, २०८३ सोमबार १५:५९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।