आफू नै कांग्रेसको सभापति रहेको देउवाको दाबी, सोधे- ‘हामीले पैसामा पार्टी बेच्दिने ?’

आफू नै कांग्रेसको सभापति रहेको देउवाको दाबी, सोधे- ‘हामीले पैसामा पार्टी बेच्दिने ?’

काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफू नै पार्टीको वैधानिक सभापति रहेको दाबी गरेका छन्। सभापति पदबाट आफूलाई नहटाइएको र आफूले विशेष महाधिवेशन पनि आह्वान नगरेको उल्लेख गर्दै उनले वैधानिकताबारे अदालतमा मुद्दा दायर गरिएको बताएका हुन्।

शनिबार कांग्रेस इतर पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले भने, “अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन। त्यस कारण हामीले अदालतमा मुद्दा हालेका हौं। त्यस कारण हामीले जिल्ला अदालतमा मुद्दा हालेका थियौं।”

विशेष महाधिवेशनलाई विस्थापन गर्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उनले नियमित महाधिवेशनबाट मात्र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउन सुझाव दिएको बताए।

“मैले यस विशेष महाधिवेशनलाई पनि विस्थापन गर्न हुँदैन भनेको थिएँ,” देउवाले भने, “मैले गगनजीलाई भनेको थिएँ- नियमित महाधिवेशन सुरु गरौं। सल्लाहअनुसार डेट तोकेर काम अगाडि बढाउनुस्। कार्यभार सम्हाल्ने, मैले पुरै जिल्ला डेट जारी गरिदिएँ, उहाँलाई कुरा गर्नुस्, यस्तो नगरौँ भन्दाखेरि विधानको प्रक्रियाबाट महाधिवेशन सुरु भयो।”

देउवाले निर्वाचन आयोगका प्रमुखले आफ्नो ज्यान खतरामा रहेको विषय सार्वजनिक रूपमै बोलेको दाबीसमेत गरे। साथै पार्टीसँग जोडिएको १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको आरोपको विषय उठाउँदै उनले आर्थिक लेनदेनका आधारमा पार्टी सञ्चालन हुन नसक्ने बताए।

देउवाले प्रश्न गरे, “इलाम सापकोटाले १८ करोड भनेको छ, १८ करोड सानो रकम हो र ? पैसा दिएर अब पार्टी किन्दियो! अब हामीले पैसामा पार्टी बेच्दिने ?”

कात्तिक २१, २०८३ शनिबार १९:३७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।