युवराजको शतक र कुशलको अर्धशतकमा कर्णालीलाई पोखराले दियो २१८ रनको लक्ष्य
काठमाडौं : पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले युवराज सिंह सम्राको आक्रमक शतक र कुशल भुर्तेलको अर्धशतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रनको विशाल योगफल तयार पार्यो।
सम्राको यस सिजनको पहिलो शतक हो। यस्तै, पोखरा यस सिजनमा २०० रनको स्कोर पार गर्ने पहिलो टोली बनेको छ भने यो एनपीएलको इतिहासमै समग्रमा दोस्रो उच्च स्कोर हो। यसअघि सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध नै २२० रन बनाएको थियो।
पोखराका लागि युवराज सिंह सम्राले विष्फोटक ब्याटिङ गर्दै यस सिजनको पहिलो शतक प्रहार गरे। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका सम्राले ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०० रन पूरा गरेका थिए। उनले कुल ४८ बलको सामना गर्दै १०२ रनको योगदान दिए।
ओपनर महेदी असन १६ बलमा ५ रन बनाएर आउट भए। कुशलले ३९ बलमा ७ छक्का प्रहार गर्दै ६२ रनको उत्कृष्ट इनिङ्स खेले। कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।
कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै मात्र ११ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित २५ रन जोडे। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक ३ रनमा अविजित रहे।
कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाटले १ विकेट लिए।
कात्तिक २३, २०८३ सोमबार १४:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।