सञ्जालमा फैलिएको ‘बालेन ग्याङ’को ‘स्मोक बम’

सञ्जालमा फैलिएको ‘बालेन ग्याङ’को ‘स्मोक बम’

सामाजिक सञ्जालको एल्गोरिदम, डिजिटल आक्रोश र मुक्तिदाताको नारा दिएर सत्तामा उदाएका शासकहरूका लागि जब प्रक्रियागत कानुन र संस्थागत मर्यादा आफ्ना लागि तगारो बन्छन् तब ती आफैँ ट्रोलरको अवतारमा बदलिन्छन्।

 किनकि, आधुनिक पपुलिस्ट शासन प्रणालीको एउटा स्थापित नियम छ- जब सत्ता आफ्नै काण्ड र विफलताहरूले घेरिन्छ, तब उसले नयाँ संकट वा सनसनी खडा गर्छ। प्रणालीगत सुधारको साटो ‘एक्सन’ को भ्रामक प्रचार गर्न पपुलिस्ट सरकारहरूले निरन्तर जनताको ध्यान मोड्ने एउटा निश्चित 'प्लेबुक' अपनाउँछन्।

 नेपालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनीसँग जोडिएको प्रशासनिक संयन्त्रको पछिल्लो अभ्यासलाई केलाउने हो भने यही रणनीति प्रस्ट देखिन्छ।  जब-जब सरकारका गतिविधि, उनीहरूका मन्त्री, सल्लाहकार वा कोर टिमका प्रिय पात्रहरू गम्भीर विवादमा तानिन्छन् तब-तब मिडिया र नागरिकको ध्यान अर्कातर्फ मोडिन्छ सामाजिक सञ्जालबाट नयाँ सनसनीको जन्म गराइन्छ।

 वर्तमान बालेन सरकार गठन भएदेखिका घटनाहरू हेर्ने हो भने ठ्याक्कै यस्तै देखिन्छ। कहिले प्रधानमन्त्री सामाजिक सञ्जालमा ट्रोलरको अवतारमा उदाउँछन् त कहिले उनका सल्लाहकार। अनि त्यसैमा मिसिन्छन् मन्त्री अनि कोर ग्रुपका सदस्यहरू।

पत्रकारमाथि भइरहेको धरपकडको गम्भीर घटनामा आइतबार प्रधानमन्त्री शाह अनि उनका सल्लाहकार कुमार बेन यस्तै गतिविधिमा सक्रिय भए। बेनले पत्रकारलाई उठाएर फेसबुकमा राखेको स्टाटसमा प्रधानमन्त्री शाहले कमेन्ट गरेर उडाए। अनि प्रधानमन्त्री शाहले लेखेको स्टाटसमा बेनले प्रतिक्रिया लेखेर उडाए।

जेनजी आन्दोलनको सुशासन, जबाफदेहिता र पारदर्शीताको अजेण्डामा टेकेर सत्ता चलाउने महत्वपूर्ण जिम्मेवारीमा पुगेकाहरू किन यस्तो सस्तो रणनीति र प्रचारबाजीमा रमाइरहेका छन्?, के हो उनीहरूको रणनीति अनि यतिसम्मको हर्कत गर्दा पनि समर्थक किन वाहवाह गरिरहेका छन् उही सञ्जालमा?

OOO
 

काठमाडौँको सत्ता राजनीतिमा पछिल्ला महिनाहरूमा देखिएको घटनाक्रमलाई समयक्रमअनुसार विश्लेषण गर्ने हो भने एउटा अनौठो र गम्भीर प्रवृत्ति देखिन्छ, जब बालेन वा उनका ‘भित्री कोर ग्रुप’ को कुनै निर्णय वा गतिविधि विवादमा आउँछन् तब उनीहरू सामाजिक सञ्जालबाट अर्को सनसनीको जन्म गराएर विषयान्तरमा सक्रिय भइहाल्छन्। उनीहरूका लागि विषयको कति गम्भीर हो त्यसको अर्थ हुन्न। सामाजिक सञ्जालका गतिविधिले एउटा विवाद दबाउन अर्को त्यो भन्दा ठूलो विवाद जन्माउनु नै उनीहरूको नियमित लक्ष्य झैँ देखिन्छ।

प्रधानमन्त्रीलाई सिधै एसएमएस गरेको भन्दै बहालवाला सचिवलाई प्रहरी लगाएर नियन्त्रणमा लिने घटना होस् या समाचार कक्ष भित्रै छिरेर पत्रकारमाथि गरिएको धरपकडको घटना होस्, कहिले प्रधानमन्त्री बालेन ट्रोलरको रूपमा सामाजिक सञ्जालमा उदाए त कहिले उनका सल्लाहकार कुमार व्यञ्जनकार।

शुक्रवार तीन पत्रकारको पक्राउ र दुई पत्रकार पक्राउ गर्न कार्यालयमा गरिएको धरपकडको तीव्र आलोचना भएपछि आइतबार प्रधानमन्त्रीका सल्लाहकार व्यञ्जनकार उस्तै रूपमा उदाए आफ्नो फेसबुक पेजमा।

हिजोका दिनदेखि नै उनीसँग निकट केही पत्रकार अनि पछिल्लो समय भेटघाट भएका केही पत्रकारहरूसहितलाई मेन्सन गर्दै उनले फेसबुकमा लेखे -यो २८ जना पत्रकारमा को-को पर्या हो। २८ मा नपर्ने नि के पत्रकार भन्नू हैन साथी हो।

नयाँ पत्रिकामा शुक्रवारको धरपकडको प्रशंगमा २८ जना पत्रकारको सूची प्रधानमन्त्रीको सचिवालयले बनाएको र त्यसमध्ये केहीलाई शुक्रवार पक्राउ र पक्राउको प्रयास गरेको दाबीसहित समाचार प्रकाशित भएको थियो। त्यसैलाई सटाएर हान्दै उनले केही पत्रकारहरूको नामसहितको यो स्टाटस लेखेका थिए। त्यसमा मेन्सनमा परेका अनि नपरेका दुबैथरि पत्रकारहरू नै मजाक गम्भीर विषयमा व्यञ्जनकारले गरेको मजाकमा मिसिएर मेन्सन-मेन्सन खेल खेल्न थाले।

त्यस्तोमा प्रधानमन्त्री बालेनको हात नचिलाउने कुरै थिएन। उनले व्यञ्जनकारको स्टाटसमा प्रतिक्रियामा लेखे ‘कुपन्डोल जाने मात्र पत्रकार? अरू कलाकार? कुपन्डोल अर्थात् कुमार बेनको घर भएको ठाउँ।

 अब पालो बालेनले स्टाटस लेख्ने अनि कुमार बेनले कमेन्ट गर्ने।

पत्रकारमाथिको धरपकड अनि सिचाई विभागका महानिर्देशक र निर्देशकलाई प्रहरी लगाएर नियन्त्रणमा लिएर ठेक्का रद्द गराएको घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गतिविधिको आलोचना गरे।

त्यसको केही समयमै फेसबुकमा बालेन शाह झुल्किएर र लेखे- सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ! त्यसमा कुमार व्यञ्जनकारले प्रतिक्रिया लेखे-सही समय भनेको कहिले हो? शनिवार आइतबार हो?

आइतबार सरकारी बिदाकै दिन। जवजव सरकारी बिदाको दिन आउँछ प्रधानमन्त्री अनि उनका टिमका सदस्य सामाजिक सञ्जालमा यसरी नै इत्री रहन्छन्। उनका समर्थक नतमस्तक भएर वाह वाह गर्दै लत्रिन्छन्। परिवर्तनको आशमा अजेण्डा र उम्मेदवार वास्तै नगरी मतदान गरेका मतदाता कालो अनुहार बनाउँछन्। सुशासन, पारदर्शिता र जवाफदेही सरकारको माग गर्दै भदौ २३ मा आन्दोलन गर्ने सक्कली जेनजीहरु टाउको समात्छन्।

फागुन २१ पछि यसरी नै चलिरहेको छ सत्ता। यसो हेर्दा यो सामान्य जस्तै देखिए पनि पर्दाभित्र भने नियोजित ‘स्मोक बम’ देखिन्छन्। स्मोक बम अर्थात् युद्ध मैदानमा दुस्मनको नजर छल्न वा अन्यत्र अल्झाउन चारैतिर धुवाँको मुस्लो खडा गरेर वास्तविक गतिविधि लुकाउने अभ्यास।

जब सरकार वा उसका मुख्य पात्रहरू आफ्नै काण्ड, नीतिगत विफलता, विवादास्पद निर्णयहरूमा घेरिन्छन्, तब उनीहरूले सामाजिक सञ्जालमा कुनै नयाँ सनसनी, स्टन्ट वा वादविवाद खडा गरिहाल्छन्।

OOO

बालेन सरकारको सबैभन्दा ठूलो विरोधाभास उसको ‘चयनात्मक नैतिकता’ मा देखिन्छ। बाहिर उनीहरू आफूलाई भ्रष्टाचारविरुद्धका एक्ला योद्धाका रूपमा प्रस्तुत  त गर्छन्, तर पर्दापछाडि आफ्ना कुण्ठा पुरा गर्न, सामाजिक सञ्जालको लोकप्रियता कायमै राख्न अनि प्रिय पात्रहरूलाई जोगाउन राज्य संयन्त्रको चरम दुरुपयोग गर्छन्।

त्यसको पुष्टिका लागि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारको कलबाइपास कनेक्सन, गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमाथि उठेका गम्भीर प्रश्न, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल नै प्रत्यक्ष संलग्न देखिएको एन्फा ठेक्का मिलेमतो र आर्थिक अपचलनको मुद्दा र त्यसमा सरकारको व्यवहारै काफी छन्।

अहिले त्यसैमा आनी छोइङ डोल्माको लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तिसँगै जोडिएर आएको सम्पत्ति शुद्धीकरण र नक्कली नागरिकताको जोडिएकै छ।

नियुक्त गर्ने मन्त्रिपरिषद् भए पनि यसमा बालेनका ‘प्रिय मन्त्री’ खडकराज पौडेल उर्फ गनेस जोडिएका छन्। यदि जवाफदेही र पारदर्शी सरकार हुन्थ्यो भने सार्वजनिक भएका प्रमाणका आधारमा सरकार तत्काल आनीको विचाराधीन सम्पत्ति शुद्धीकरण र नक्कली नागरिकताको छानबिनमा सक्रिय हुनु पर्ने हो नि। तर त्यतातिर ध्यान छैन।

उल्टो उनीहरू हुल बाँधेर सामाजिक सञ्जालमा आउँछन्। अनि इत्रिन्छन्। अनि दम्भ देखाउँदै देशको सरकार प्रमुख लेख्छन्- दुई चार दिन जोगिँदैमा कोही बच्दैन।

यसले के प्रमाणित गर्छ भने- उनीहरूका लागि कानुन र छानबिन विरोधीहरूलाई तह लगाउने हतियार मात्र हो,किनकि आफ्ना मान्छे जोगाउन  त राज्यको कार्यकारी अधिकार आफैँसँग छदैछ।

OOO

यो प्रशंगमा इनम सापकोटा छुट्नु जायज हैन। तर इनममा प्रवेश गर्नु अगाडि भारतको एक उदाहरण जोडौँ।

भारतको मुम्बइमा अहिले लरेन्स विश्नोइको आतंक छ। तर उनले कसरी आतंक मच्चाइरहेका छन् बढो रहस्यमा छ। किनकि लरेन्स दाउद इब्राहिम जसरी बेपत्ता छैनन्, उनी सरकारी कारागारमा छन्। तर मुम्बइमा सहजै उनको समूहका सदस्य गम्भीर अपराधमा सक्रिय छन्।

टाइगर श्रफको हत्या प्रयासै गरे। लरेन्सकै डरले अमिताभ बच्चन आफ्नै घरको कम्पाउन्डमा पनि बुलेटप्रूफको सिसाभित्र बस्न बाध्य छन्। सलमान खान ज्यान जोगाउन जेडप्लस सुरक्षाको घेरामा बस्न विवश छन्।

यता अहिले त्यस्तै निस्किएको इनम सापकोटाको नाम। सापकोटा फरार छैनन्, प्रहरी हिरासतमा छन्। तर उनको ह्वाट्सएप नामक हतियारबाट कसको करिअर कतिखेर सुट हुने हो पत्तै हुन्न। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाहुँदै सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालबाट यो सरेर अहिले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की,एआइजी राजन अधिकारीहुँदै सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र प्रधानन्यायधीशसम्म पुगिसकेको छ। सत्ताधारी दल रास्वपाका सांसद विश्वराज अधिकारी पनि यसैमा तानिएका छन्।

हुँदाहुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आधिकारिताको विवादमा विशेष महाधिवेशन पक्षधरले कति करोड खुवाए अनि अदालतले टुङ्ग्याएको आधिकारिताको विवाद ब्युँताउँदा अर्को पक्षले कति करोड खर्चिए भन्ने जस्ता अपुष्ट विवरण आइरहेका छन्।

यसले राज्यका अनुसन्धान संयन्त्रहरू कसरी शासकको राजनीतिक स्वार्थका लागि प्रयोग भइरहेका छन् अनि गम्भीर अपराधको आरोपमा राज्यको अनुसन्धानको दायराभित्र रहेका  इनमलाई सत्ताले कसरी हतियार बनाइरहेको छ भन्ने गतिलो उदाहरण उनै  इनम बनेका छन्।

 यदि सरकार र अनुसन्धान गर्ने सरकारी संयन्त्र इमान्दार हुने हो भने उनीहरूको प्राथमिकता हिरासतमा रहेका सापकोटाको सम्बन्ध र सम्पर्कबारे निष्पक्ष अनुसन्धानमा केन्द्रित हुनु पर्ने हो। तर त्यसको साटो, राज्य संयन्त्रबाटै आफू अनुकूलका सूचना र स्क्रिनसट रणनीतिक रूपमा चुहाएर इनमको काँधमा बन्दुक राखेर विरोधीहरूमाथि निशाना साध्नेक्रम तीव्र भइरहेका छन्।

तर, इनामसँग जोडिएका अनि देखिएकाहरूमा सत्तामा रहेकाहरूकै अनुहारको संख्या दिनकै बढिरहेको छ। प्रधानमन्त्री बालेनदेखि वर्तमान सरकारका मन्त्री बिराजभक्त श्रेष्ठ र सस्मित पोखरेलदेखि हिजो जेनजी आन्दोलनदेखि आज सरकारका प्रियसम्मको सूचीमा रहेकाहरूसँग इनम ‘इमान’साथ उभिएका तस्बिर सार्वजनिक भइरहेकै छन्। तर उनीहरूतिर अनुसन्धानको सुई अलिकति पनि ढल्किएको छैन।

कात्तिक १६, २०८३ सोमबार २३:१४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।