प्रकाशकीय : न चुक्नेछौँ, न झुक्नेछौँ

प्रकाशकीय : न चुक्नेछौँ, न झुक्नेछौँ

६ वर्षअघि उकेरा डटकमको स्थापना हुँदा नेपाली पत्रकारितामा दैनिक भाइरल घटनाक्रम र भ्युजको पछि दौडिने होडबाजी तीव्र थियो। तर, हामीले फरक बाटो रोज्यौँ- प्रमाण, गहिराइ र तथ्यपरक खोजमूलक पत्रकारिता।

उकेराको प्रारम्भिक लक्ष्य केवल सञ्चारमाध्यमको संख्या थप्ने मात्र नभई फरक दृष्टिकोण, जिम्मेवारी र बहुआयामिक विविधता ल्याउने एक सचेत प्रयास थियो। छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गर्दा हामी गौरवका साथ भन्न सक्छौँ- हामी सङ्ख्या बढाउने खेलमा लागेनौँ। कुनै पनि पक्ष वा गुटको पछि नलागी केवल 'तथ्य'लाई आधार बनायौँ।

जेन-जी  आन्दोलनदेखि बदलिएको राजनीतिक परिदृश्यसम्म, अनि सत्ता र सत्ता बाहिरका बदमासी र अनियमितताका फेहरिस्त प्रमाणसहित सार्वजनिक गर्ने मामिलामा हामी पछि हटेनौँ। हामीले को भनेर व्यक्ति हेरेनौँ, के भनेर प्रमाण हेर्यौँ। हाम्रा पाठक र दर्शक नै हाम्रा वास्तविक शक्ति हुन् भन्ने मान्यतामा हामी अटल रह्यौँ, छौँ।

आज नेपाली प्रेस स्वतन्त्रता र मिडिया क्षेत्र गम्भीर मोडमा उभिएको छ। समाचार चित्त नबुझ्दा मिडिया हाउसको गेटमा अवरोध गर्दै गाडी तेर्स्याएर तर्साउनेदेखि समाचार लेखेकै आधारमा पत्रकारहरू पक्राउ पर्ने अनि समाचार कक्षभित्रै सुरक्षाकर्मी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने निरंकुश शैली बढिरहेका छन्। त्यसमा पारदर्शिता, जवाफदेहिता र कानुनी राज्यको जगमा टेकेर सत्तामा पुगेको शक्ति नै संलग्न देखिएका छन्। आफ्ना बदमासी लुकाउन प्रत्यक्ष/ अप्रत्यक्ष रूपमा मिडियामाथि दबाब बढाउने क्रम जारी छ।

यस्ता चुनौतीहरूका सामु उकेरा डटकम न चुक्नेछ, न झुक्नेछ। नागरिकको सूचनाको अधिकारको पक्षमा हामी यस्ता दबाबहरूलाई चिर्न निरन्तर सजग र सक्रिय रहनेछौँ। यसका लागि राज्य वा शक्तिकेन्द्रको जुनसुकै दबाबका सामु नझुकी खोजमूलक पत्रकारितालाई अझ सशक्त रूपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ।

अनुसन्धानमा आधारित निष्पक्ष पत्रकारिताका लागि पाठकको सहयोग नै मुख्य खम्बा हो। उकेराले सुरु गरेको सब्स्क्रिप्सन सेवामा हजारौँ पाठक जोडिनुभएको छ। यसलाई थप प्रभावकारी, पारदर्शी र सरल बनाउँदै मिडियाको आर्थिक आत्मनिर्भरता सुदृढ गर्न थप सक्रिय हुने छौँ।

सत्ता र शक्तिको निरन्तर निगरानीसँगै समाजका पछाडि पारिएका र किनाराकृत वर्गका मुद्दाहरूलाई तथ्यका साथ उजागर गर्न हामी हिजो जस्तै दत्तचित्त भएर सक्रिय हुनेछौँ।

बदलिँदो प्रविधि र पाठकको रुचि अनुसार उकेराले आफ्ना सामग्रीहरूको स्वरूपमा सुधार गरिरहेको छ। जटिल विषयहरूलाई सरलीकृत गर्न डेटा भिजुअलाइजेसन, भिडियो सामग्री र गहिरो अनुसन्धानमा आधारित भिजुअल रिपोर्टिङलाई डिजिटल प्लेटफर्ममा प्राथमिकता दिइरहेका छौ। यसका लागि सातौँ वर्षको यात्रामा थप परिष्कृत गर्ने छौँ।

सनसनी र लोकप्रियतावादबाट मुक्त रहँदै हरेक सामग्रीलाई थप विश्वसनीय बनाउन डिजिटल प्रमाण प्रणाली अझ बलियो बनाउनेछौँ। अर्ध वार्षिक 'उकेरा म्यागेजिन' लाई थप पाठकमैत्री सान्दर्भिक र सङ्ग्रहणीय  बनाउने छौँ।

दैनिक समाचारको हतारोभन्दा माथि उठेर सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका विषयमा गम्भीर र अनुसन्धानमूलक सामग्रीलाई थप प्राथमिकता दिँदै के भयो मात्र हैन, कसरी र किन भयो भन्ने तहसम्म केलाएर सामग्रीलाई प्राथमिकता दिनेछौँ। छापा संस्करणका साथै म्यागेजिनलाई डिजिटल स्वरूपमा सब्स्क्राइबरहरूका लागि थप सहज उपलब्ध गराउनेछौँ।

सङ्ख्याभन्दा गुणस्तर, सनसनीभन्दा सत्य, र नाराभन्दा निगरानीमा हामी हिजो जस्तै आज पनि दृढ छौँ।

हाम्रो यो ६ वर्षको यात्रामा विश्वास, साथ र रचनात्मक सुझाव दिनुहुने सम्पूर्ण पाठक, दर्शक, विज्ञापनदाता, ग्राहक र शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्दछौँ।

अन्त्यमा, ६ वर्षसम्मको यो निरन्तर साथका लागि धन्यवाद। सत्य र निष्पक्षताप्रतिको हाम्रो यो अविचलित यात्रा निरन्तर जारी रहनेछ।

सुरेश ढकाल

अध्यक्ष

पाथसिड नेपाल प्रालि

कात्तिक १५, २०८३ आइतबार ०९:३६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।