सकिब अल हसनले एनपीएलका बाँकी खेल नखेल्ने
काठमाडौं : पोखरा एभेन्जर्सबाट खेलिरहेका बंगलादेशी स्टार अलराउन्डर सकिब अल हसनले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलहरू नखेल्ने भएका छन्।
पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले उकेरासँग कुरा गर्दै टिम प्लेअफ दौडबाट लगभग बाहिरिएपछि आपसी समझदारीमै सकिबलाई बिदाइ गर्ने निष्कर्षमा पुगिएको पुष्टि गरेका छन्।
सकिब व्यक्तिगत काम विशेषले केही दिनअघि युएईको दुबई गएका थिए। शुक्रबार चितवन राइनोजविरुद्धको ‘गर या मर’ को महत्त्वपूर्ण खेलअघि उनी बिहान ८ बजेको उडानबाट काठमाडौं आइपुग्ने तालिका थियो।
तर, फ्लाईट छुटेका कारण उनी दिउँसो २ बजे मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।
“विमानस्थलबाट बाहिर निस्कँदा ३:१५ भइसकेको थियो। त्यसमाथि तिहारको ट्राफिक जाम र आईसीसीको एन्टी करप्सन युनिटको प्रोटोकलअनुसार खेलाडी होटलबाट टिम बसमै मैदान पुग्नुपर्ने नियमका कारण उनले हिजोको खेल खेल्न भ्याएनन्,” त्रिपाठीले उकेरासँग भने, “अब टिम प्लेअफमा नपुग्ने जस्तो देखिएपछि उनी बाँकी खेलका लागि पनि टिममा नफर्किने जस्तै भएको छ।”
त्रिपाठीका अनुसार पूरा सिजनका लागि सम्झौता भए पनि सकिब आफैँले आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको र टिमलाई योगदान दिन नसकेको महसुस गरेका थिए।
यस्तै, पाकिस्तानी खेलाडीहरूको ‘एनओसी’ समस्याका कारण अबुधाबी टी-१० लिगमा रिप्लेसमेन्ट खेलाडीका रूपमा सकिब त्यता जान सक्ने सम्भावनासमेत रहेको त्रिपाठीले बताए।
विश्व क्रिकेटकै स्टार अलराउन्डरमध्येका एक मानिएका सकिबको उपस्थितिले एनपीएलमा ठूलो चर्चा बटुले पनि उनको व्यक्तिगत प्रदर्शन भने बिर्सनलायक रह्यो। ब्याटिङमा उनले खेलेका ३ खेलमा ८.६७ को औसतले जम्मा २६ रन मात्र बनाएका छन्। उनको व्यक्तिगत उच्च स्कोर १४ रन हो।
बलिङमा तीन इनिङ्समा उनले कुल ४ विकेट लिए। जसमा जनकपुर बोल्ट्सविरुद्ध १५ रन खर्चेर लिएको ३ विकेट नै उनको उत्कृष्ट प्रदर्शन रह्यो।
नयाँ कप्तान चमिका घाइते, कप्तानीको नयाँ अन्योल
सकिबको बहिर्गमनसँगै पोखरामा कप्तानीलाई लिएर पनि नयाँ अन्योल थपिएको छ।
लगातार तीन हारपछि ब्याटिङमा दबाब कम गर्न मुख्य प्रशिक्षक अजन्था मेन्डिस र कुशल भुर्तेलको आपसी सहमतिमै शुक्रबार श्रीलंकाली खेलाडी चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाइएको थियो। तर, कप्तानी सम्हालेकै खेलमा चमिकाको हातमा चोट लागेको छ।
“हिजो फिल्डिङ गर्ने बेलामा चमिकाको हात सुन्नियो भनेर बिहान मलाई खबर आएको छ,” त्रिपाठीले उकेरासँग भने, “फिटनेसमा समस्या भएन भने उनैले कन्टिन्यु गर्लान्। तर, खेल्नै नसक्ने अवस्था आयो भने के गर्ने? अब धेरै कति चेन्ज गर्ने भनेर फेरि कुशललाई नै कन्टिन्यु गराउँछन् कि भन्ने कुरा छ।”
'अर्जुनले साथ पाएनन्'
शुक्रबार चितवनविरुद्धको ‘गर या मर’ को खेलमा जितको नजिक पुगेर पनि ३० रनले हार्नुपरेको पीडा मालिक त्रिपाठीले पोखे। उनले मध्यक्रमका ब्याटरहरू नचल्दा र कमजोर फिल्डिङ नै लगातार चौथो हारको कारण रहेको बताए।
“जित्नै पर्ने खेल थियो। १४ ओभरमा १०२ रन बनिसकेको थियो र पावरप्लेमै ५५ रन आइसकेको थियो। ३० बलमा ५४ रन बनाउनु कुनै असम्भव थिएन, तर हाम्रो मिडल अर्डर पुरै कोल्याप्स भइदियो,” त्रिपाठीले भने, “सुरुमै क्याचहरू छुट्यो। अर्जुन कुमालले एउटा छेउबाट खेले पनि बाँकी खेलाडीले साथ दिन सकेनन्।”
एनपिएलको सबैभन्दा महँगो फ्रेन्चाइज टोली पोखरा अघिल्ला दुई सिजनमा जस्तै यस पटक पनि प्लेअफ पुग्न नसक्ने एक मात्र अभागी टोली बन्ने संघारमा पुगेको छ।
लगातार चार हारपछि अब बाँकी खेलहरूमा भने पोखराले बेन्चमा रहेका युवा खेलाडीहरूलाई मैदान उतार्ने नीति लिने भएको छ। त्रिपाठीका अनुसार अवसर नपाएका विवेक रानामगर, सन्नी बिकेजस्ता युवा प्रतिभालाई बाँकी खेलमा मौका दिइनेछ।
कात्तिक २१, २०८३ शनिबार १४:०४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।