राजनीतिक खिचातानीले थलिएको आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

राजनीतिक खिचातानीले थलिएको आदिवासी रङ्गशाला निर्माण परियोजना अघि बढ्यो

झापा : कमल गाउँपालिका-५ मा आदिवासी स्मृति रङ्गशालाका लागि वर्तमान सरकारले बहुवर्षीय परियोजना स्वीकृत गरेपछि रङ्गशाला निर्माणले गति लिने भएको छ।

विसं २०६७ वैशाखमा सो स्थानमा रङ्गशाला निर्माण गर्नका लागि तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले परियोजना शिलान्यास गरेकी थिइन्। तर, राजनीतिक खिचातानीका कारण हालसम्म रङ्गशालाको निर्माण अघि बढ्न सकेको थिएन।

सङ्घीय सरकारले यसपालि आदिवासी रङ्गशाला निर्माण अघि बढाउने भन्दै ३० करोडको बहुवर्षीय परियोजना स्वीकृत गरेको रङ्गशाला निर्माण समितिका महासचिव दिपेनवाला राईले बताए। उनका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा रङ्गशाला निर्माणका लागि तीन करोड बजेट विनियोजन भएको छ।

उक्त बजेटलाई कार्यान्वयन गर्ने विषयमा कमल गाउँपालिकाले आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानसहितका सरोकारवाला निकायसँग संयुक्त बैठक सम्पन्न गरिसकेको उनले जानकारी दिए। 

कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका निर्माण समितिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको संयुक्त बैठकले चालु आवको बजेटबाट डिपिआर र पूर्वाधारको काम सुरु गर्ने निर्णय भएको छ। बैठकमा सघन सहरी विकास कार्यालय भद्रपुर, पाथिभरा सशस्त्र तालिम केन्द्र, पूर्वाधार विकास कार्यालय भद्रपुर र आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानका प्रतिनिधि सहभागी छन्।

चालु आवमा विनियोजित तीन करोड खर्च हुने र बाँकी बजेट आगामी दुई वर्षको बजेटबाट विनियोजन हुने भनेर सङ्घीय सरकारबाट प्रतिबद्धता व्यक्त भएको प्रतिष्ठानका महासचिव राईले बताए। निर्माणस्थलमा आदिवासी जनजातिका ९०० भन्दा बढी चिहान हटाएर रङ्गशाला निर्माण गरिने भएको हुँदा सुरुमा सो रङ्गशालाको नाम ‘आदिवासी स्मृति रङ्गशाला’ प्रस्ताव गरिएको थियो। 

पछि रङ्गशालाको नाम फेरेर ‘मदन भण्डारी रङ्गशाला’ राख्ने प्रयास भएपछि राजनीतिक वृत्तमा विवाद भएको थियो। विवादकै कारण रङ्गशाला निर्माण अलपत्र बनेको हो।

कात्तिक २२, २०८३ आइतबार ०८:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।