लुम्बिनीको अपराजित यात्रामा ब्रेक लागेपछि कप्तान रोहितले भने : ‘यो सही समयमा आएको हार हो’
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा टुंगिएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पावरप्लेमा भएको ब्याटिङ ‘कोल्याप्स’नै हारको मुख्य कारण रहेको बताएका छन्।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले १६० रनको लक्ष्य चेस गर्न सकिने भए पनि ब्याटिङ युनिट चल्न नसकेको स्वीकारे।
खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले डेभिड वार्नरको ६६ रनको मद्दतमा १६० रन बनाएको थियो। जवाफमा लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो।
जारी सिजनमा पहिलो हार व्यहोरेको लुम्बिनीका कप्तान पौडेलले यस हारलाई सकारात्मक रूपमा लिँदै आगामी खेलहरूका लागि पाठ सिक्ने अवसरका रूपमा व्याख्या गरे।
रोहितले भने, “हामीले पछिल्ला ९-१० वटा खेल जितिसकेका थियौं। खेलकुदमा हार र जित दुवै स्वाभाविक प्रक्रिया हुन्। एक हिसाबले यो हाम्रा लागि राम्रो समयमा आएको हार पनि हो। बाँकी दुई खेलमा राम्रो गर्न सके अझै पनि प्लेअफ र शीर्ष २ मा पुग्ने अवसर हामीसँग सुरक्षित छ।”
उनले अब विगतलाई बिर्सेर टिमका रूपमा कहाँ गल्ती भयो भन्ने समीक्षा गर्दै अघि बढ्नुपर्ने बताए।
वार्नरको अनुभव र सुरुवाती बलिङ
काठमाडौंका ओपनर डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए। यसबारे बोल्दै कप्तान पौडेलले पहिलो १० ओभरमा बलिङ युनिटबाट योजनाअनुसार कार्यान्वयन ‘एक्जिक्युसन’ हुन नसकेको बताए।
“सुरुवाती १० ओभरमा हामीले सोचेजस्तो बलिङ गर्न सकेनौं। अर्कोतर्फ डेभिड वार्नरले आफ्नो अनुभव देखाउँदै उत्कृष्ट ब्याटिङ गरे, जसको श्रेय उनलाई जान्छ,” रोहितले भने।
१८औँ ओभरमा रुबेन ट्रम्पलम्यानलाई हटाएर ग्रान्ट स्टेवार्टलाई बल थमाउने निर्णयबारे प्रस्ट पार्दै उनले क्रिजमा दुई जना बायाँहाते ब्याटर रहेकाले स्लोअर बल प्रभावकारी होला भनेर रणनीति बनाए पनि त्यो सफल हुन नसकेको बताए।
पावरप्लेमा ५-६ विकेट गुम्नु दुर्भाग्यपूर्ण
१६१ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेभित्रै २८ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो। कप्तान रोहितले पिच ब्याटिङका लागि निकै राम्रो भए पनि टप अर्डर चल्न नसक्दा कमब्याक गर्न असम्भवप्रायः भएको बताए।

“त्यो पिचमा १६० रन चेस हुनुपर्ने थियो। तर पावरप्लेमै ५-६ विकेट गुमाएपछि कुनै पनि टिमलाई खेलमा फर्किन निकै गाह्रो हुन्छ। पूरै ब्याटिङ युनिट नै धराशायी भयो, यसमा कुनै एक जनालाई मात्र दोष दिन मिल्दैन,” उनले भने।
जोरालाई आठौं नम्बरमा खेलाउनु टिमको आवश्यकता
उत्कृष्ट लयमा रहेका सन्दीप जोरालाई आठौं नम्बरमा ब्याटिङ गराइएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा रोहितले टिम रणनीतिअनुसार उक्त निर्णय लिइएको भनेर बचाउ गरे।
“पिचमा बल घुमिरहेको हुनाले दायाँ र बायाँहाते ब्याटरको कम्बिनेसन मिलाउनु टिमका लागि महत्त्वपूर्ण थियो,” रोहितले भने, “अवश्य पनि जोरा आठौं नम्बरमा खेल्ने खेलाडी होइनन्, तर व्यक्तिगतभन्दा टिमको तत्कालीन आवश्यकता र प्राथमिकतालाई हामीले हेर्नुपर्ने हुन्छ।”
उनले टिम अप्ठ्यारोमा परेका बेला जोराले सम्हालिएर ४४ रनको इनिङ खेल्दै अभिषेक गौतमसँग मिलेर टिमको स्कोर १२४ सम्म पुर्याएकोमा प्रशंसा गरे। यसले टिमको नेट रनरेट धेरै खस्कनबाट जोगाएको उनको भनाइ थियो।
ओपनरमाथि अझै भरोसा
अपेक्षित प्रदर्शन गर्न नसकिरहेको ओपनिङ जोडी डिआर्सी सर्ट र आसिफ शेखबारे सोधिएको प्रश्नमा रोहितले उनीहरू अनुभवी खेलाडी भएकाले दबाबको घडीमा टिमलाई जिताउने विश्वास व्यक्त भने, “हामीलाई हाम्रा ओपनरहरूमाथि पूरा भरोसा छ, आगामी महत्त्वपूर्ण खेलहरूमा उनीहरूले लय समात्नेछन्।”
लुम्बिनीको आगामी खेल कर्णाली याक्ससँग हुनेछ। कर्णाली निकै सन्तुलित र प्रतिस्पर्धात्मक खेलहरू जित्दै आएको टिम भएको उल्लेख गर्दै रोहितले विपक्षीभन्दा पनि आफ्नो टिमको उत्कृष्ट प्रदर्शनमा ध्यान केन्द्रित रहने बताए।
कात्तिक २१, २०८३ शनिबार २२:४४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।