एनपीएल : लुम्बिनीको अपराजित यात्रामा काठमाडौंको ‘ब्रेक’, ३६ रनको जितसहित दोस्रो स्थानमा

एनपीएल : लुम्बिनीको अपराजित यात्रामा काठमाडौंको ‘ब्रेक’, ३६ रनको जितसहित दोस्रो स्थानमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अंकतालिकाको शीर्ष स्थान रहेको लुम्बिनी लायन्सको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं गोर्खाज दोस्रो स्थानमा उक्लिएको छ। 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा काठमाडौंले लुम्बिनीलाई ३६ रनले पराजित गर्यो। यो जितसँगै काठमाडौं भने चार खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ। 

जारी सिजनको पाँच खेलमा पहिलो हार व्यहोरेको लुम्बिनी भने ७ अंकसहित शीर्ष स्थानमै यथावत् छ। काठमाडौंले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनी तीन बल अगावै १९.३ ओभरमा १२४ रनमै समेटियो।

जवाफी ब्याटिङका क्रममा लुम्बिनीको सुरुआत निकै खराब रह्यो। काठमाडौंका बलरहरूको कसिलो बलिङसामु लुम्बिनीले ४.३ ओभरमै शीर्ष ६ विकेट गुमाएर संकट व्यहोरेको थियो। पावर प्लेमा ३४ रन जोड्दा ६ विकेट गुमाइसकेको लुम्बिनी त्यसपछि खेलमा फर्कन सकेन।

उसका लागि सन्दीप जोराले सर्वाधिक ४४ रनको इनिङ खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। यस्तै, अविशेष गौतमले १६, निरोशन डिकवेल्लाले १४ र रुवेन ट्रम्पलम्यानले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीको इनिङ ध्वस्त पार्न घातक बलिङ गरेका काठमाडौंका जहान्दाद खानले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे। त्यस्तै साहब आलम, सन्तोष यादव, सेहान र रासिद खानले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो। काठमाडौंका लागि डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गर्दै दोस्रो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गरे। अर्धशतकीय इनिङ खेलेका वार्नरले ६६ रन बनाए भने पटेलले ३८ रनको योगदान दिए। 

बलिङतर्फ लुम्बिनीका शेर मल्ल, अविशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान २-२ विकेट लिएका थिए।

कात्तिक २१, २०८३ शनिबार २१:१०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।