बल स्विङ हुँदा मद्दत मिल्यो, ट्रफी उचाल्ने लक्ष्य छ : जहाँदाद खान

बल स्विङ हुँदा मद्दत मिल्यो, ट्रफी उचाल्ने लक्ष्य छ : जहाँदाद खान

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको शीर्षस्थानको लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेपछि काठमाडौं गोर्खाजका तीव्र गतिका बलर जहाँदाद खानले रात्रिकालीन परिस्थिति र स्विङको फाइदा उठाउँदै योजनाबद्ध बलिङ गरेको बताएका छन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई १२४ रनमै समेट्न उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानी पेसर जहाँदादले चार विकेट लिएका थिए।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले पिच र कन्डिसनअनुसार १६० रनको योगफल निकै चुनौतीपूर्ण र पर्याप्त रहेको बताए। सुरुवाती खेलहरूमा गति भए पनि विकेट लिन नसकेका जहाँदादले यस खेलमा लय समातेका हुन्।

यसबारे बोल्दै उनले भने, “सुरुका खेलहरूमा सोचेजस्तो स्विङ मिलिरहेको थिएन। तर, यो रात्रिकालीन खेल भएकाले फ्लडलाइटमुनि कन्डिसन फरक थियो। बल हावामै स्विङ भइरहेको थियो र त्यसले मलाई बलिङमा धेरै मद्दत गर्यो। हामीले जटिल केही नगरी सामान्य योजनामै बलिङ गर्यौँ।”

उनले अघिल्लो खेलमा कर्णाली याक्सविरुद्ध ब्याटिङबाट खेल जिताएपछि आफ्नो आत्मविश्वास निकै बढेको र त्यसको सकारात्मक प्रभाव बलिङमा देखिएको बताए। नेपालका प्रमुख तीव्र गतिका बलर तथा काठमाडौंका कप्तान करण केसीसँगको साझेदारीबारे जहाँदादले खुलेर प्रशंसा गरे।

“करण भाइसँग नयाँ बल साझेदारी गर्न पाउँदा निकै रमाइलो भइरहेको छ। उहाँ निकै अनुभवी र उत्कृष्ट फास्ट बलर हुनुहुन्छ। दुवै छेउबाट कसिलो बलिङ गर्दा विपक्षीलाई दबाबमा राख्न सहज भयो”, उनले भने।

साथै, उनले नेपाली समर्थकहरूको क्रिकेटप्रतिको क्रेज र मैदानमा पाएको ऊर्जाको तारिफ गर्दै यहाँ खेल्न पाउँदा निकै आनन्द आइरहेको प्रतिक्रिया दिए। पाकिस्तानी खेलाडीहरूको एनओसी विवादका बीच एनपिएल खेलिरहेका सीमित पाकिस्तानी खेलाडीमध्ये एक रहेका जहाँदादले आफूमाथि कुनै प्रकारको अतिरिक्त दबाब नरहेको प्रस्ट पारे।

“टिम व्यवस्थापनले ममाथि ठूलो विश्वास देखाएको छ र मलाई पूर्ण रूपमा ब्याक गरेको छ। म कुनै दबाब लिन्नँ, केवल आफ्नो खेलमा ध्यान केन्द्रित गरेर शतप्रतिशत दिने प्रयास गर्छु”, उनले भने।

प्रतियोगितामा सबै टोलीको खेल हेरिसकेको बताउँदै उनले काठमाडौं गोर्खाजको लक्ष्य लिग चरण पार गर्ने मात्र नभएको बताए। उनले भने, “हाम्रो लक्ष्य केवल समूह चरणका खेल जित्ने मात्र होइन, प्लेअफ हुँदै फाइनल पुगेर यस पटक एनपिएलको ट्रफी उचाल्ने हो।”

कात्तिक २१, २०८३ शनिबार २२:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।