एनपीएल : शीर्षस्थानको लुम्बिनीले टस जित्यो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा तालिकाको शीर्षस्थानमा रहेको लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले टस जितेर काठमाडौंलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
जारी लिगमा अपराजित रहेको लुम्बिनी ४ खेलबाट ३ जित र १ खेल रद्द हुँदा ७ अंकसहित तालिकाको शीर्षस्थानमा छ। आजको खेल जितेमा लुम्बिनी ९ अंक जोड्दै चालू सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बन्नेछ।
अर्कोतर्फ, करण केसीको कप्तानीमा रहेको काठमाडौं गोर्खाज ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेर चौथो स्थानमा छ। आज लुम्बिनीलाई हराउन सके काठमाडौं ४ खेलबाट ६ अंक बटुल्दै उत्कृष्ट नेट रनरेटका आधारमा दोस्रो स्थानमा उक्लिनेछ र प्लेअफ यात्रालाई थप सहज बनाउनेछ।
यस खेलमा विश्वचर्चित अस्ट्रेलियाली ब्याटर डेभिड वार्नर काठमाडौंको टोलीबाट मैदान उत्रिँदै छन् भने लुम्बिनीमा डिआर्सी सर्ट, निरोशन डिकवेला र रुबेन ट्रम्पलम्यानजस्ता अन्तर्राष्ट्रिय स्टारहरू प्लेइङ ११ मा छन्।
दुवै टोलीको प्लेइङ ११ :
लुम्बिनी लायन्स : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, तिलक राज भण्डारी, अभिषेश गौतम, निरोशन डिकवेला (विकेटकिपर), डिआर्सी सर्ट, रुबेन ट्रम्पलम्यान र ग्रान्ट स्टेवार्ट।
काठमाडौं गोर्खाज : करण केसी (कप्तान), डेभिड वार्नर, भीम सार्की, मोहम्मद आदिल आलम, सहान अराचिगे, विलियम बोसिस्टो, जहाँदाद खान, रसिद खान, सन्तोष यादव, साहब आलम र साहिल पटेल (विकेटकिपर)।
कात्तिक २१, २०८३ शनिबार १६:५४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।